Kathmandu Press

बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत १० : राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने परराष्ट्रमन्त्री...
बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत १० : राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए।  

राष्ट्रपति भण्डारी र बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले बताए । भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बंगलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको उनले बताए ।

राष्ट्रपति भण्डारीसँग बंगलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा. एके अब्दुलले सोमबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै, मन्त्री ज्ञवालीले विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ गरेका थिए ।

ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै ज्ञवालीले ऊर्जा, पर्यटनलगायत  व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र  जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको बताए ।

बंगलादेशसँग भएको रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

नेपालसँगको व्यापार घाटा कम गर्न बंगलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरुपमा प्रवेश पाउनका लागि आफूहरुले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरुका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र संकल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

मन्त्री ज्ञवालीले छोटो अवधिको यो भ्रमण उपलब्धिमूलक र सफल भएको दुवै देशका सरकार  र जनताका तहमा रहेको सम्बन्ध अझै सुदृढ भएको बताए ।

 

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्