सगरमाथा आरोहण मे पहिलो सातादेखि
काठमाडौं, चैत ९ : वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ...
काठमाडौं, चैत ९ : वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ ।
साहसिक एवम् अति नै संवेदनशील मानिने सगरमाथा आरोहणलाई व्यवस्थित र गुणस्तरीय बनाउन विभागले आरोहण इतिहासमै पहिलोपटक चिकित्सकलाई सगरमाथाको आधार शिविरमै खटाएको छ ।
त्यसो त यसअघिका आरोहणमा पनि चिकित्सकको व्यवस्था हुने भए पनि उनीहरु सम्बन्धित स्थानमा पुग्दैन थिए । सम्पर्क अधिकृत पनि सम्बन्धित गन्तव्यमा नपुग्ने, बीचबाटै फर्किनेलगायतमा समाचार आएका थिए ।
हिमाल आरोहणका लागि उपयुक्त वसन्तयाममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् ।
आरोहणमा देखिएका विभिन्न जटिलता र विकृतिलाई नियन्त्रण गर्न नियामक विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको हो ।
विभाग, पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो वर्षको वसन्तयामको आरोहणमा सम्बन्धित क्षेत्रमै चिकित्सक रहने व्यवस्था मिलाइएको जानकारी दिए ।
‘सगरमाथा आरोहणलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन हामीले विभिन्न व्यवस्थापन गर्ने क्रममा यो पटक सगरमाथाको आधार शिविरमै रहने गरी दुईजना चिकित्सक खटाइसकेका छौँ, उहाँहरु सम्भवतः त्यहाँ पुगिसक्नुभयो, अहिलेसम्मको आरोहण र अभिलेखलाई हेर्दा यो ऐतिहासिक काम भएको हामीलाई लागेको छ,आधार शिविरमै चिकित्सक राखेको अरू उदाहरण भेटेका छैनौँ”, उनले भने ।
विभागले स्वास्थ्य सेवा विभागअन्तर्गतका दुई चिकित्सकलाई काजमा सगरमाथाको आधार शिविरमा खटाएको छ । विभागले पर्यटन ऐन र पर्वतारोहण नियमावलीबमोजिम खटिने सम्पर्क अधिकृतलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बन्दोबस्ती मिलाएको निर्देशक आचार्यले बताए ।
आरोहणका दौरानमा अन्य गतिविधि बढेकाले विभागले यस पटक तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन÷प्रसारणमा कडाइ गरेको छ । आरोहीले हिमालमा आफ्नो आरोहण दलको गतिविधिलाई भने फोटो, भिडियोमा कैद गर्न सक्नेछन् तर ती सामग्री अन्य प्रयोजनका लागि पाइने छैन ।
आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि विभागबाट पूर्व जानकारी लिनुपर्नेछ । आरोहण दलको सङ्ख्यानुसार सम्पर्क अधिकृत खटाइन्छ । एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन् । एकदेखि १५ जनाको आरोही दल हुन्छ।
आरोहणमा खटिने सम्पर्क अधिकृतको अवधि पनि हिमालअनुसार फरकफरक हुन्छ। सगरमाथाको उचाइसहित आठ हजार मिटर अग्ला हिमालका लागि ७५ दिनका लागि सम्पर्क अधिकृत खटाइन्छ । उनीहरु आवश्यकता र मौसमको अनुकूलताअनुरुप खटिन्छन्।
पर्वतारोहणसम्बन्धी नियमावली–०५९ मा व्यवस्था भएअनुसार सम्पर्क अधिकृत आरोही दलसँगसँगै कार्यक्षेत्रमा खटिनुपर्ने भए पनि व्यावहारिकरुपमा आरोहीभन्दा केही समय ढिलो सम्पर्क अधिकृत खटिन्छन् ।
वसन्तयामको आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिइरहेका छन् । अहिलेसम्म बाक्लै सङ्ख्यामा आरोहीले आरोहण अनुमतिका लागि निवेदन दिएको विभागले जनाएको छ । यो यामको आरोहण आगामी मेको पहिलो साताभित्र आरोहण सुरु हुने विभागको अनुमान रहेको निर्देशक आचार्यले बताए।
वसन्त आरोहणका लागि अनुमति लिएका आरोही गन्तव्यतिर लागिसकेका छन् । आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ ।
आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ । हालसम्म मनास्लु, लुबुचेलगायत हिमाल आरोहणका लागि आरोही समूह गन्तव्यतर्फ निस्किएका छन्।
साहसिक पर्यटन आरोहणका क्रममा सम्पर्क अधिकृत खटाइएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको जनाउँदै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको छ ।
आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीका साथ खटाउनेछ । आरोहणमा अनुशासन कायम गर्न अघिल्लो वर्षदेखि आरोहणमा सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने गरिएको छ।
कतिपय सम्पर्क अधिकृत सगरमाथाको आधार शिविरसम्म पनि नपुग्ने, बीच बाटाबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ।
अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् ।
सगरमाथा आरोहणको सलामी ऋतुअनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७ सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ।
यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। (रासस)











