Kathmandu Press

प्रधानमन्त्री ओलीसँग सहकार्य हुन सक्छः जसपा नेता सुमन

जसपाका प्रदेश सांसद मनिष सुमनले पार्टीका माग सम्बोधन भए भने प्रधानमन्त्री केपी ओलीसँग सहकार्य हुने बताएका छन्।
प्रधानमन्त्री ओलीसँग सहकार्य हुन सक्छः जसपा नेता सुमन

काठमाडौं, चैत ९ : जसपाका प्रदेश सांसद मनिष सुमनले पार्टीका माग सम्बोधन भए भने प्रधानमन्त्री केपी ओलीसँग सहकार्य हुने बताएका छन्।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा सुमनले भने, ‘जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुन्छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइ र नागरिकतासम्बन्धी विधेयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषका आधारमा समर्थन गर्छौँ।’

विगतमा आफूहरूले भेट्न खोज्दा प्रधानमन्त्री ओलीले भेट नदिएको तर २३ फागुन २३ पछि खोज्दै खोज्दै आफूहरूसँग आइपुगेको सुमनले बताए। ‘फागुन २३ यता आजसम्म उहाँसँग लगातार छलफल भइरहेको छ,’ उनले खुलासा गरे।

सत्ताको साँचो आफ्नो पार्टीको हातमा रहेको उनले बताए। सोही कारण विगतमा भेटसमेत नदिने ठूला दलका नेताहरू जसपालाई खोज्दै आउन थालेको उनले बताए।

सोही कार्यक्रममा कांग्रेस नेता सुरेन्द्र पाण्डेले मुलुकमा उत्पन्न संकटको निकास ताजा जनादेशबाट मात्र निस्किने बताए। अहिलेको संसदले संकटबाट निकास दिन नसक्ने उनले जिकिर गरे।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले ८-१० दिनभित्रै नयाँ सरकार गठन हुने दाबी गरे। आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको उनले बताए।

एमाले ओली समूहका नेता शेरबहादुर तामाङले सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन माओवादी केन्द्रसँग आग्रह गरे।
 

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्