पर्साको प्रतापपुरबाट सुरु भयो गैंडा गणना

चितवन, चैन ९ : आजदेखि गैंडाको गणना सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरु भइको छ। तोकिएको समयभन्दा दुई वर्ष ढिलो गैंडाको गणना सुरु भएको हो।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सिट्ठी फुकेर गैँडा गणनाको सुभारम्भ गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना सुरु गरिएको हो ।
गैंडा गणनामा ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० लाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार दुई निकुञ्जमा गैंडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ । गैंडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु गरिँदै छ । चारवटै निकुञ्जमा गैंडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
सरकारले गत वर्ष गैंडा गणनाका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । गैंडा गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तुु कोष नेपाल र जेडएसएल नेपाललगायतका संघ संस्थाले पनि सहयोग गरेका छन्।
सन् सन् २०१५ को गणनामा नेपालमा ६४५ गैंडा थिए ।











