दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान
काठमाडौं, चैत्र ९ : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका...
काठमाडौं, चैत्र ९ : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन्। त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ। सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन्। उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।











