भोलि कांग्रेस पदाधिकारी-पूर्वपदाधिकारीको बैठक, आज पौडेल पक्षको छलफल
काठमाडौं, चैत ८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नयाँ सत्ता समीकरण गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कस्तो भूमिका प्रदर्शन...
काठमाडौं, चैत ८ : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नयाँ सत्ता समीकरण गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कस्तो भूमिका प्रदर्शन गर्छ भने सबैले चासोका साथ हेरिरहेका छन्।
यसैबीच सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठक कांग्रेस केन्द्रीय कार्यलाय सानेपामा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र कांग्रेसको १४औं महाधिवेशनबारे छलफल हुनेछ।
एमाले र माओवादी केन्द्र अलग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा पर्ने अवस्था आएको छ। माओवादीले समर्थन फिर्ता लिने वितिक्कै सरकार अल्पमतमा पर्ने भएकाले नयाँ सत्ता साझेदारीबारे छलफल गरिरहेको छ।
कांग्रेस नेताहरुले केही दिनभित्रै माओवादी र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्ने बताउँदै आएका छन्। तर, यस विषयमा कांग्रेस, माओवादी र जसपाबीच सहमति हुन सकेको छैन।
सभापति देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा यस विषयमा छलफल हुने जनाएको छ।
सभापति देउवाले बोलाएको बैठकअघि धारणा तय गर्न भन्दै इतर पक्षले पनि प्रायजसो बैठक राख्ने गरेका छन्।
सोमबार बोलाइएको बैठकको अघिल्लो दिन पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरूलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरे। छलफलमा सहभागी हुन महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत, मीनेन्द्र रिजाल पौडेल निवास पुगेका थिए।।
छलफलमा १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ। ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्नुपर्ने विषयलाई सोमबारको बैठकमा पनि ध्यानाकर्षण गराउने विषयमा छलफल भएको जनाइएको छ।
नेता पौडेल अरू दलसँग मिलेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन्।











