एमाले र माओवादीमा नैतिकता छैन : नेता सिंह
काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रमा नैतिकता नभएको बताएका छन् । आफ्नै निवासमा आयोजित पार्टी प्रवेश...
काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रमा नैतिकता नभएको बताएका छन् । आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्टहरूले नैतिकता देखाएर राजनीतिप्रति विश्वास बढाउने सोचे पनि उनीहरुले त्यस्तो नैतिकता देखाउन नसकेको सिंहले बताए ।
‘कम्युनिष्टहरुमा नैतिकता नै छैन, आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेका छन्’ सिंहले भने, ‘राजनीतिमा नैतिकता हुनुपर्यो नि ! एमाले र माओवादीका नेताहरूमा खै नैतिकता ?’ एमाले र माआवादीका नेताहरुको शब्दकोशमा नैतिकता भन्ने शब्द नै नरहेको उनले बताए ।
अहिले राजनीतिक अस्थिरताको कारक एमाले र माओवादी केन्द्र दुवै भएको नेता सिंहले आरोप लगाए । जनमत लिएका एमाले र माओवादी गैरजिम्मेवार बनेकाले राजनीतिक अन्योलता बढेको उनले बताए ।
कांग्रेस एक्लैले नैतिकताहीन ओली सरकारको विकल्प दिन नसक्ने उनले बताए । वर्तमान सरकारलाई विस्तापित गर्ने बारेमा जसपा र माओवादी स्पष्ट भएपछि कांग्रेस जस्तोसुकै परिस्थितिलाई समालेर जान तयार रहेको समेत सिंहले बताए।
कार्यक्रममा सिंहले विश्वकर्मा समाज राष्ट्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मालगायतलाई एमाले र माओवादी परित्याग गरेका १८ जनालाई कांग्रेस प्रवेश गराएका थिए ।











