४० वर्षपछि जेलमुक्त भई नेपाल आइपुगेका दुर्गाप्रसाद आमालाई भेट्न आतुर
काँकडभिट्टा, चैत ८ : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिनासुनुवाइ बिताएका इलामको माई नगरपालिका-१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन्...
काँकडभिट्टा, चैत ८ : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिनासुनुवाइ बिताएका इलामको माई नगरपालिका-१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन् । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।
तिम्सिना आइतबार (आज) बिहान सवा ९ बजे काँकडभिट्टा आइपुगेका हुन्। कोलकाताबाट शनिबार स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुसी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए। उनले त्यसक्रममा आमा भेट्न आतुर भएको बताए।
कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हो । लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ। उहाँ कम बोल्नुहुन्छ र एकोहोरिनुहुन्छ।
अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६/६ महिनामा उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उहाँका भाइ प्रकाशचन्द्रले बताए। उनको मुद्दाको अन्तिम फैसला भइनसकेको उनले जानकारी दिए।
बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए। हाल बुवा र माइला भाइको निधन भइसकेको छ । घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्यग्रतापूर्वक पर्खिरहेका छन्।
रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुग्नुभएका दुर्गाप्रसादले पत्रकारसँग अलिकति हाँसो साट्दै थोरै मात्र बोलन सके। भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेकाले उनीहरूसँग मिलन गराएर आइतबार (आज) नै घर पुर्याइने बताए।











