ओलीबिरुद्ध खनिए एमाले उपाध्यक्ष रावल, ‘हामीले होईन्, ओलीले स्पष्टीकरण दिनुपर्छ’
काठमाडौं, चैत्र ८ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहितका पार्टीबाट निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय अवैध र हाँस्यास्पद...
काठमाडौं, चैत्र ८ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहितका पार्टीबाट निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय अवैध र हाँस्यास्पद भएको बताएका छन्।
शनिवार राति एक ट्वीट गर्दै रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्णय आफूले अस्वीकार स्पष्ट पारेका हुन्।
‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने ओलीओलीजीले अबैध कमिटीको कथित म समेत नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीका नेताहरुलाई कारबाहीको लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हाँस्यास्पद छ । त्यस्तो निर्णयलाई म पुर्णत अस्वीकार गर्छु’, ट्वीटमा लेखेका छन् ।
रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले केन्द्रीय कमिटीको बैठकले रावलसहित वरिष्ठ नेता माधव नेपाल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।











