प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आयो भने भाग्नेवाला पनि छैन : देउवा

भरतपुर, चैत ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न लालयित नभएको बताएका छन्। जिम्मेवारी आएमा पछि नट्ने पनि उनको भनाइ छ।
शनिबार चितवनमा कांग्रेसको तरुण विभागले राष्ट्रिय भेला आयोजना गरेको थियो। भेलालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको बताएका हुन्।
सभापति देउवाले भने, ‘सबैले शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भनिरहेका छन्, तर म प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आयो भने भाग्नेवाला पनि छैन।’
माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा रहिरहने उनको भनाइ थियो। देउवाले भने, ‘सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा फर्कियो, प्रचण्डजीले समर्थन फिर्ता गर्नुभएको छैन, माधवजी कसरी अघि बढ्ने हो पनि थाहा छैन। उनीहरू कसरी अघि बढ्छन् हेरौं।’
बरु अहिले अहिले सरकारको नेतृत्व गर्नुभन्दा निर्वाचयनको तयारीमा ध्यान दिनुपर्ने देउवाले बताए। सरकार भन्दा पार्टी बनाउनतिर लाग्न नेता तथा कार्यकर्तालाई देउवाले आग्रह गरे।
उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समय आउन लागिसकेको बताए। उनले भने, ‘आपसी मतभेद र झगडा त्यागेर अघि बढ्नुस्, जनताले हामीलाई बहुमत दिन्छन् तपाईंहरू अब जनताकोमा जानुस्। बहुमत पाएपछि त हाम्रै भइहाल्छ।’











