Kathmandu Press

ओली समूहमा लागेका सांसद पोखरेल भन्छन्- समानान्तर एमालेमा बस्‍न सकिनँ

एमालेको नेपाल-खनाल समूहबाट शनिबार ओली समूहमा प्रवेश गरेका चितवन क्षेत्र नम्बर २ का सांसद समानान्तर एमालेमा बस्‍न मनले नमानेर एमालेमै फर्केको बताएका छन्।
ओली समूहमा लागेका सांसद पोखरेल भन्छन्- समानान्तर एमालेमा बस्‍न सकिनँ

काठमाडौं, चैत ७ : एमालेको नेपाल-खनाल समूहबाट शनिबार ओली समूहमा प्रवेश गरेका चितवन क्षेत्र नम्बर २ का सांसद समानान्तर एमालेमा बस्‍न मनले नमानेर एमालेमै फर्केको बताएका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध उनी खुलेर प्रस्तुत भएका थिए। उनी संसद्को कानून, न्याय तथा मानव अधिकार समितिका सभापति पनि हुन्।

‘तर, यो उमेरमा आएर समानान्तर गतिविधि गरेर कहिले पार लगाउने ? उहाँहरूले एमालेकै नाममा तल्लो तहसम्म समानान्तर गतिविधि गर्ने भन्‍नुभएको छ,’ पोखरेलले भने, ‘संसद्को कानून समितिको सभापतिले त्यसो गर्दै हिँड्न मिल्छ कि मिल्दैन भन्‍ने प्रश्‍न पनि मनमा आयो। मन भित्रैदेखि पीडाबोध भयो।’

त्यसैले एमालेको मुल प्रवाहमा बसेरै काम गर्न मन लाग्यो। ‘राजनीति गर्न मन लागे गरे भयो, मन नलागे नगरे भयो,’ उनले भने, ‘संसद् पुनःस्थापनाको मुद्दा थियो। त्यसमा जिताइयो पनि। त्यसमा आज पनि म दृढ छु। तर, त्यसभन्दा अगाडि नबढौँ भन्‍ने मनमा आयो।’

संसद् विघटनको मुद्दामा आफ्नो विमती रहेको र त्यो सच्चिइसकेकाले फेरि गुटमा बसिरहन मन नलागेको उनको भनाइ छ। कुनै लाभ पाउने हिसाबबाट आफू ओली समूहमा प्रवेश नगरेको उनले बताए। आफूले कसैसँग कुरा नगरी यो निर्णय लिएको पोखरेलले दाबी गरे।

वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ओली समूहमा नजानुपथ्र्यो भनेर सम्झाएको उनले जानकारी दिए। ‘माधव कमरेडले माया गर्नुभएको थियो, उहाँसँगै बसेको भए हुन्थ्यो तर समानान्तर गतिविधि गरेर बस्‍न सकिनँ। समानान्तर गतिविधि गरेर यो उमेरमा हिँड्न सकिएलाजस्तो लागेन,’ उनले भने।
 

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्