गोपी र सन्तोषीलाई वीर गणेशमान सिंह टेन-के रोड रेस उपाधि
काठमाडौं, चैत ७ : एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेस प्रतियोगिताको उपाधि जितेका...
काठमाडौं, चैत ७ : एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन्।
शनिबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन्। गोपी र सन्तोषीको यो लगातार दोस्रोपटक उपाधि प्राप्ति हो। दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे। गोपीले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए। नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे। उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए।

पुरुषतर्फ अनिश थापा मगर ३१ मिनेट ५०.४९ सेकेन्डमा दोस्रो भए। तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे। यस्तै गजेन्द्र थापा चौथो र नरेन्द्र रावत पाँचौं भए। दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे। यस्तै रामजी बस्नेत छैटौं, जितेन्द्र दनुवार सातौं, नरेश बुढा आठौं, सन्तोषविक्रम विष्ट नवौं र टंक कार्कीले १०औं स्थान हासिल गरे । उनीहरू सबैले ४ हजार बराबरको गिफ्ट ह्याम्पर पाए ।
यसैगरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन्। उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन्। सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन्। अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन्।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डका दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे। दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी आशा राउत छैटौं, सरस्वती बोहरा सातौं, बन्दना राई आठौं, निर्मला राई नवौं र कागज विष्टले १०औं स्थान हात पारे । उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो।

विजेता खेलाडीलाई पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।











