Kathmandu Press

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

काठमाडौं, चैत ६ : महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार ससम्मेलन नै गरेर उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री केपी...
महान्यायाधिवक्ता खरेलले दिए राजीनामा
फाइल तस्बिर

काठमाडौं, चैत ६ : महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार ससम्मेलन नै गरेर उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै राजीनामा दिएको स्पष्ट पारे।

तीन वर्षयता सरकारको कानुनी सल्लाहको भूमिका निर्वाह गर्दै आएका उनले राजीनामापछि पनि प्रधानमन्त्रीसँगकाे सम्बन्धमा कुनै कमी नआउने बताए। आफू महान्यायाधिवक्ताका रूपमा रहँदा साथसहयोग दिने सबैलाई धन्यवाद दिँदै उनले आफूले तीन वर्षको अन्तरालमा गरेका कामहरूको केही समयपछि फेरि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए।

केही समयअघि मात्र आफूले राजीनामा दिन लागेको समाचार केही सञ्चारमाध्यममा आएको तर आज भने त्यतिबेला लेखिएबमोजिम नै राजीनामा दिएको उल्लेख गरे।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा यसअघि चलेको थियो। त्यतिबेलाको हल्ला सत्य नरहेको बताए।

महान्यायाधिवक्ता रहँदा आफुमाथि मिडियाले बेला बेला विभिन्न आक्षेप लगाएको आरोप उनको थियो। सत्यतथ्य कुरा बुझेर मात्रै समाचार लेख्न उनले आग्रह गरे।

उनी २०७४ फागुन ८ गते महान्यायाधिवक्ता भएका थिए। दुईवटै संविधानसभामा सदस्यसमेत रहिसकेका खरेल नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत हुन्। उनी ओली नेतृत्वको पहिलेको सरकारमा कानुनमन्त्री थिए। महान्यायाधिवक्ता हुनुअघि उनी एमालेका पोलिटब्युरो सदस्य थिए। 

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्