कांग्रेस प्रमुख सचेतक खाँणले उठाए सरकारमाथि नैतिकताको प्रश्न
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालत असंवैधानिक कदम भनिसकेपछि सरकारमाथि नैतिकताको प्रश्न उठेको उनले बताए।
काठमाडौं, चैत ६ : कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारमाथि नैतिकताको प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालत असंवैधानिक कदम भनिसकेपछि सरकारमाथि नैतिकताको प्रश्न उठेको उनले बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै खाँणले भने, ‘यति ठूलो कदम चालिसकेपछि र प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि उहाँले नैतिक दायित्व लिनु पर्छ कि पर्दैन? संविधान मान्छौँ भन्ने सरकारले त्यसको नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैन?’
वर्तमान सरकार सुरुदेखि नै संविधानको खिलाफमा उभिएको उनले उल्लेख गरे। ‘यो सरकार बनेदेखि निरन्तर संविधानमाथि प्रहार गरिरहेको छ, सरकार बनेकै दिनदेखि विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर प्रहार गरिरहेको छ,’ उनले भने, ‘सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन? के संविधानको स्पिरिट पालना पारिरहनुभएको छ?’
मिडियाको मुख थुन्न मिडिया विधेयक ल्याइएको, सूचना प्रविधि विधेयक र गुठी विधेयक ल्याएर जनअधिकार, संस्कृति, परम्परामाथि निरन्तरता प्रहार गरिरहेको उनले बताए।
मेलम्चीको पानी आयो भनेर प्रचार गरिरहेको सरकारले त्यसको विषय उठान गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामसम्म लिन कन्जुस्याईं गरेकामा आपत्ती जनाए। ‘दिउँसै रात पार्न काम नगर्नोस्,’ उनले भने।










-1790835640.png)
