अझै खुला भएन खुलामञ्च
काठमाडौं, जेठ २० : सर्वसाधारणका लागि खुला गर्न भन्दै अघिल्लो महिना काठमाडौं महानगरपालिकाले खुलामञ्चमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएक....
काठमाडौं, जेठ २० : सर्वसाधारणका लागि खुला गर्न भन्दै अघिल्लो महिना काठमाडौं महानगरपालिकाले खुलामञ्चमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका सटरहरु भत्कायो।
खुलामञ्च गैरकानूनीरुपमा भाडामा लगाइएको सरकारको चर्को आलोचना भएपछि काठमाडौं महानगरपालिकाको अग्रसरतामा २० वटाभन्दा बढी सटरहरु भत्काइएको थियो। तर, सटरहरु भत्काइएपनि समस्या भने ज्यूँको त्यूँ नै छ।
काठमाडौंको व्यस्त शहरको बीचमा रहेको खुलामञ्च खुला राख्नुपर्ने अभियान अभियानमै सीमित बनेको छ। स्टलहरु भत्काइएका ठाउँमा अहिले पनि साना व्यापारीहरुले व्यापार गरिरहेका छन्। सर्वसाधारणका लागि बनाइएको सार्वजनिक शौचालय छेउछाउमा केही पसल र होटल अझै सञ्चालनमा छन्।
खुल्लामञ्चभरि जताततै टहरा, निर्माण सामग्रीका थुप्रा र पार्किङ लटहरू छन्। ‘खुलामञ्च खुला हुँदैन?’ भन्ने काठमाडौंप्रेसको प्रश्नमा महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले भने,‘कसरी खुला बनाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीर छौं। तर, निर्णय केही भएको छैन।’
खुलामञ्च खुला रहनुपर्छ भन्ने विषयमा पनि विवादमा अल्झिने वर्तमान सरकार अहिलेसम्मकै लाचार र कमजोर रहेको काठमाडौं महानगरका पूर्वउपमेयर एवं कांग्रेस नेता नविन्द्रराज जोशीको आरोप छ। ‘खुलामञ्चभित्र बनेका विभिन्न संरचनाका विषयमा पनि छानविन गर्नुपर्ने हो र? यो कुनै विषय नै होइन सारालाई थाहा भएको कुरा हो। प्रधानमन्त्रीज्यूले अनि मेयर विद्यासुन्दरज्यूले बुझ्नुपर्दैन?,’ जोशीले भने,‘अर्काको घरमा जबरजस्त बस्न जानेहरुलाई निकाल्न नसक्ने यो सरकारको लाचारीपन हो।’
कहाँ के छ, खुलामञ्चमा?
कुनै बेला टुँडिखेल नारायणहिटी दरबारदेखि दशरथ रङ्गशालासम्म फैलिएको थियो। २०१७ सालसम्म पनि रानीपोखरीको डिलदेखि त्रिपुरेश्वरसम्मको क्षेत्र खुला ठाउँ थियो।यही खुला ठाउँबाट दास प्रथा उन्मूलनको घोषणा गरिएको थियो। दोस्रो विश्व युद्ध लड्न बर्मा, मलाया र युोप जाने तयारीमा रहेका गोर्खाली सैनिकहरूलाई यहीँ भेला गराइएको थियो।
तर, राजा महेन्द्रले रानी रत्नको नाउँमा रत्नपार्क बनाइदिएपछि यो खुला क्षेत्र खण्डित भयो। पछि त्रिपुरेश्वरतिर रङ्गशाला बन्यो। सहिद गेटदेखि रङ्गशालासम्मको क्षेत्रमा सेनाले आफ्नो मुख्यालय बनायो। टुँडिखेलकै उत्तरी कुनामा सैनिक मञ्च पनि बनायो।
विभिन्न संरचनाहरू बनेपछि सानो टुँडिखेल र खुलामञ्चमात्रै बाँकी थियो। यो सीमित खुला क्षेत्रमा अहिले कतै खुला ठाउँ छैन। २०७१ सालमा पुरानो बसपार्कलाई पनि खुलामञ्चभित्रै सारियो। पुरानो बसपार्क भएको ठाउँमा भ्यूटावर नाम दिइएको व्यापारिक भवन बनाउन सुरु गरिएको छ।
सटर भत्काए पनि खुला भएन खुलामञ्च : चिनियाँकाे टहरादेखि खाजा बेच्ने शौचालयसम्मकाे अतिक्रमण उस्तै
काठमाडौं क्षेत्र नंं. ६ का सांसद भीमसेनदास प्रधानले भ्यूटावर बने रानीपोखरीको पानी सुक्ने र खुला ठाउँ पनि मासिने भन्दै विरोध गरे। तर, उनको कुराको कुनै सुनुवाई भएन। खुलामञ्चभित्र बनाइएको अस्थायी बसपार्कको छेउमा एउटा सार्वजनिक शौचालय छ। तर, यहाँ कोही शौच गर्न जाँदैनन्। किनकि, शौचालयका लागि बनाइएको भवनमा झण्डै २० वटा पसल छन्। महानगरपालिकासँग ‘साझेदारी’ गरेर राजाराम गर्तौलाले यो व्यापारिक शौचालय चलाइरहेका छन्।
दरबार हाइस्कुल बनाउन आएका चिनियाँ कामदारहरू पनि खुलामञ्चभित्रै बस्छन्। उनीहरूले ४० वटा कोठा भएका प्रि–फ्याब घरहरू बनाएका छन्। वीर अस्पतालको पार्किङ पनि यही छ। टुँडिखेलको एउटा कुनामा धरहरा निर्माणका लागि ल्याइएका ढुङ्गा, गिटी र बालुवाको थुप्रो छ भने अर्को कुनामा धरहरा निर्माणमा खटिएका मजदुरहरूका अस्थायी टहरा छन्।