Kathmandu Press

एमालेको राष्ट्रिय भेलामा चार हजार नेता-कार्यकर्ता सहभागी

काठमाडौं, चैत ४ : नेकपा (एमाले) नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरका चार हजार नेता तथा कार्यकर्ता सहभागी भएका छन्।ललितपुरमा बुधबारदेखि...
एमालेको राष्ट्रिय भेलामा चार हजार नेता-कार्यकर्ता सहभागी

काठमाडौं, चैत ४ : नेकपा (एमाले) नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरका चार हजार नेता तथा कार्यकर्ता सहभागी भएका छन्।

ललितपुरमा बुधबारदेखि शुरु भएको भेलामा देशभरका नेता कार्यकर्ता सहभागी रहेको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले बताएका छन्। भट्टराईले भने, 'पार्टीमा उत्पन्न विषम परिस्थितिबारे छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन आयोजित भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरु उत्साहका साथ सहभागी हुनुभएको छ।'

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एकीकरण गर्ने निर्णय बदर गरेसँगै एमाले र माओवादी केन्द्र अलग भएका थिए। त्यससँगै एमालेमा पनि विवाद शुरु भएको थियो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएर माधवकुमार नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यसपछि नेपाल पक्षले राष्ट्रिय भेला बोलाएको हो।

बुधबार एमाले पूर्वअध्यक्ष तथा बरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख छ। उनले पार्टी एकता कायम राख्न सबै परिचालन हुनुपर्नेमा जोड दिएका छन्।

एमाले कार्यकर्ता भेलामा सिद्धिलाल सिंह, कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत नेता पनि सहभागी भएका छन्।

नेपाल प्रस्तुत गरेको अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ। भट्टराईले प्रेस विज्ञप्ति जारी गरी समूहमा छलफल गरी टोली नेतामार्फत बिहीबार सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम रहेको जनाएका छन्।

समूहमा सहजिकरणका लागि प्रदेश १ मा भीमप्रसाद आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ।

अवधारणपत्रका साथ समसामयिक विषयमा प्रस्तावहरु पारित गर्दै बिहीबार भेला समापन हुने जनाएको छ।

प्रकाशित मिति: २०:४२ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्