एमालेमा गुट सुरु गर्ने ओली हुन्ः खनाल
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दी सुरु गर्ने नेता केपी ओली भएको आरोप लगाएका छन्।
काठमाडौं, चैत ४ : एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दी सुरु गर्ने नेता केपी ओली भएको आरोप लगाएका छन्।
राजधानीमा सुरु भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले मदन भण्डारी फाउन्डेसनका नाममा ओलीले देशव्यापी गुटबन्दी बढाएको आरोप पनि लगाए।
तीन वर्षयता आफूहरूले ओलीको व्यवहार अति सहेको तर सहन नसकेपछि विद्रोह गर्नुपरेको उनले बताए। प्रधानमन्त्री ओली दक्षिणपन्थी भासमा लागेको उनले आरोप लगाए।
‘पार्टी अध्यक्षले सबै नेतासँग छलफलबाट अगाडि बढ्ने अपेक्षा थियो तर त्यसो गर्नुभएन, पार्टीलाई विभाजन र विघटनतिर लैजाने प्रयास गर्नुभयो,’ खनालले भने।
संसद् पुनःस्थापना हुँदा संविधान बचाउन सकेको तर सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेज हुने राजनीतिक फैसला दिएको उनको दाबी थियो।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धि मार्गमा अगाडि बढाउनु साटो पार्टीका कार्यदिशा, नीति, विधि र पद्दति बेवास्ता गरेको उनले बताए। ‘उहाँले दम्भ र अहंकार प्रकट गर्नुभयो, पार्टीसँग विचार विमर्श गर्नुभएन, एकलौटी ढंगले बजेट प्रस्तुत गर्नुभयो, आफ्ना धुपौरे र आसेपासेहरूलाई मात्र काखी च्याप्नुभयो,’ उनले भने, ‘पछिल्ला दिनमा पार्टीका कुरा नसुन्ने मात्र होइन, पार्टीका बैठक पनि राख्न छाड्नुभयो। तीन महिनामा एकीकरण गरिसक्ने लक्ष्य थियो, तीन वर्षमा पनि एकीकरण हुन सकेन। त्यही पार्टी पनि बचाउन सकिएन।’











