महानगरले बन्द गर्यो ६६ वर्ष पुरानो रात्रीकालीन विद्यालय
वीरगञ्ज, जेठ २० : पर्साको वीरगञ्ज महानगरपालिका–८ स्थित ६६ वर्ष पूरानो रात्रिकालिन विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले विद्यार्थी संख्या कम....
वीरगञ्ज, जेठ २० : पर्साको वीरगञ्ज महानगरपालिका–८ स्थित ६६ वर्ष पूरानो रात्रिकालिन विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले विद्यार्थी संख्या कम भएको जनाउँदै विद्यालय बन्द गरेको हो।
प्रौढ शिक्षालयमार्फत २०१८ मा वीरगञ्जमा रात्रि माध्यमिक विद्यालय स्थापना गरिएको थियो। दिनभरी काम गर्ने गरिब तथा असहायको शिक्षाका लागि राति पढाइ गर्न यो विद्यालय संचालनमा आएको थियो।
अहिले विद्यार्थी संख्या कम भएको जनाउँदै महानगरले रात्रि विद्यालयनै बन्द गरेको हो। विद्यार्थी कम भएकाले बन्द गर्नु परेको वीरगञ्ज महानगरका मेयर विजय सरावगीले बताए। यो विद्यालयमा अहिले एक सय २० विद्यार्थी थिए। उनीहरूलाई ६ शिक्षकले पढाउदै आएका थिए।
रात्रि माविमा अध्ययनरत विद्यार्थीलाई महानगरका अन्य दिवा विद्यालयमा पठाएको छ। त्यस्तै, शिक्षकलाई पनि अन्य विद्यालयमा सरुवा गरिएको छ।
दिनमा कामधन्दा गरेर राति पढ्न आउने विद्यार्थीको बाटो बन्द भएको छ। ६६ वर्षदेखि संचालनमा रहेको विद्यालय बन्द भएपछि विद्यार्थी पनि निरास भएका छन्। यसले पढाइ नै प्रभावित भएको उनीहरूको दुखेसो छ।
रात्रि माविमा अध्ययनरत विद्यार्थी र अध्यापन गराउँदै आएका शिक्षकले महानगरले बन्द गराएर राम्रो नगरेको बताए। उनीहरूसँग गरिएको कुराकानीः
प्रतिमा देवी पासवान, विद्यार्थी
हामी जस्ता विद्यार्थीको भविष्यमा खेलवाड गर्ने काम भएको छ । विद्यालयको व्यवस्थापनभन्दा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्दथ्यो।
हाम्रो आधा उमेर गईसक्यो, काम गर्ने ठाउँमा यदि एसईई उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र ल्याएमा राम्रो पद दिने कुराले म यहाँ भर्ना भएकी हुँ। अब मैले कहाँ पढ्न जाने? ३७ वर्षको मान्छेलाई कुन विद्यालयले भर्ना लिन्छ?
पूजा कुमारी, विद्यार्थी
आमाबाबा दिनमा घरमा बस्नु हुन्न। दिनमा घरको काम र भाइबहिनीलाई हेर्नुपर्ने हुँदा म साँझको समय मिलाएर यहाँ पढ्न आउने गरेकी थिएँ। अहिले यो विद्यालय रहने हो की हैन भन्ने बारे हामी अन्यौलमा छाैं। र मेयरले हाम्रो भविष्य अन्यौलमा पारिदिनु भएको छ।
हामीले हाम्रो गुनासो पोख्दा मरेको घोडाले घाँस खाँदैन् त्यो विद्यालय बन्द हुन्छ भन्नु भो। हामी कहाँ जाने हाम्रो मर्का कसले बुझिदिने?
सुनिलकुमार साह, विद्यार्थी
म एक कर्मचारी हुँ। शैक्षिक योग्यताको प्रमाणपत्र ल्याएको खण्डमा कार्यालयले राम्रो पद दिने कुरा गरेकाले म यस विद्यालयमा आएको हुँ। दिनभरी डिउटी हुने भएकाले रातिको केही समय यसरी पढ्नका लागि छुटाएको छु। तर अहिले यो विद्यालय बन्द गरिने भएको छ।
जग नै नभएपछि त्यो घर कसरी अडिन्छ र? विद्यालय नै बन्द भयो भने हाम्रो भविष्य के होला? मेयरसाबले हाम्रो भविष्यमाथि यसरी खेलवाड गर्न नहुने हो। यसतर्फ पनि सम्बन्धित निकायले ध्यान जावस्।
कलसादेवी प्रजापति, विद्यार्थी
म बाल विकासमा पढाउँछु। मेरो शैक्षिक योग्यता कम छ। समय छँदा पढ्न सकिनँ। अहिले यहाँ आफ्नो अधुरो पढाइ पूरा गर्न आएकी छु। ३५-३६ वर्षको उमेरमा अरु विद्यालयमा जान पनि मुस्किलै हुन्छ। बालबालिकालाई पनि पढाउनु पर्ने हुँदा १० कक्षा पास भएको खण्डमा पद बढुवा हुने र केही तलब पनि बढ्ने भएकाले पढ्न आएकी थिएँ।
मेयर विजय सरावगिले हाम्रो भविष्यमाथि खेलवाड गर्नुभयो। विद्यार्थी कम भयो भनेर बन्द गरिदिनु भयो। अहिले यहाँ अध्ययनरत एक सय २० विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुभयो। विद्यार्थी बढाउँनतिर पो लाग्ने हो। बन्द गर्ने त होइन नि। हामीजस्ता कति छन, पढ्न पाएका छैनन्। दिनभर काम नगरी खान पुग्दैन, त्यस्तालाई राति पढ्न प्रोत्साहन पो गर्नुपर्ने हो।
पूरुषोत्तम मिश्रा, प्रधानाध्यापक
यो पर्सा जिल्लाको एक मात्रै रात्रि विद्यालय हो। यहाँ दिनभरी आफ्नो काम गरी बेलुकी समय निकालेर पढ्न आउने विद्यार्थी छन्। सरकारले साक्षरता प्रतिशत वृद्धि गर्न विभिन्न योजनाहरु ल्याइरहेको अवस्थामा यसरी कामकाजी विद्यार्थीको शिक्षाको थलो बनेको रात्रि माविलाई बंन्द गराउँनु हँुदैन भन्ने मेरो मान्यता हो।
यो विद्यालयमा कति विद्यार्थीको संख्या चाहिने हो त्यो मेयर साहेवले भन्नु प¥यो नि। यो एउटा रात्रि मावि भएकाले विद्यार्थीको उपस्थित न्यून नै हुन्छ। त्यही कारणले मात्रै विद्यालय बन्द गर्नु उचित हुँदैन। हामी शिक्षक त अन्त दरबन्दी पाएर जान्छौँ तर जुन विद्यिार्थी पढ्ने आशा बोकेर यहाँ आएका छन्। उनीहरु कहाँ जान्छ? यस विषयमा पनि उहाँले विचार पु¥याउन जरुरी देख्छु।
राजकिशोर गुप्ता, वडाध्यक्ष, वीरगञ्ज-८
रात्रि विद्यालय भनेको विभिन्न कारणले दिनमा अध्ययन गर्न नपाएका र बीचमै आफ्नो पढाइ छाड्नु परेका विद्यार्थीको लागि हो। यसरी विद्यार्थी पढ्दापढ्दैको विद्यालयलाई बन्द गर्नु पक्कै पनि राम्रो होइन।
विद्यार्थीको भविष्यमा संकट पर्ने गरी विद्यालय बन्द गर्ने निर्णय लिनुभन्दा पहिला विद्यार्थीलाई कहाँ राख्ने र विद्यालयको व्यवस्थापन कसरी र कसको निगरानीमा गर्न सकिन्छ, भन्ने बारेमा सोच्नु भएको भए राम्रो हुने थियो।
विजय सरावगी, मेयर, वीरगञ्ज महानगर
हामीले नीतिगत प्रक्रिया पूरा गरेर नै विद्यालय बन्द गराएका हौ। कुनै मेयर वा पदाधिकारीले बन्द गर्छु भन्दैमा विद्यालय बन्द हुने हैन। बिना अनुगमन हामीले विद्यालयलाई बन्द गराएका हैनौँ। डेढ वर्षको समयावधि दिएर पटकपटक विद्यालयको अनुगमन गरेर नै हामीले विद्यालय बन्द गर्ने स्थितिमा पुगेका हौ।
जुन विद्यालयमा विद्यार्थी नै छैन् त्यो नामको मात्रै विद्यालय राखेर के काम? सित्तैमा आएको बजेट हैन जो शिक्षकलाई फोकटको तलब खुवाउनुपर्ने। राज्यको पैसाको दुरुपयोग गर्ने पक्षमा म छैन्। विद्यार्थीको संख्या नभएको विद्यालयमा मावि तहको शिक्षकलाई राखेर तलब खुवाउनु पनि भएन नि। त्यहाँका स्थानीयको गरेको उजुरी र हामीले गरेको अनुगमनलाई आधार बनाएरै हामीले विद्यालयलाई बन्द गरेका हौँ। यदि हामीले केही गलत गरेको खण्डमा मुद्दा लाग्छ नि।
त्यहाँ अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन गरेरै यो कदम चालिएको हो। त्यहाँ कार्यरत शिक्षकलाई पनि दरबन्दीको व्यवस्था गरिसकेको छ। रह्यो विद्यार्थीको गुनासो त्यसको केहि न केहि उपाय भइहाल्छ।