नेपाल–खनाल समूहको राष्ट्रिय भेला सुरु
काठमाडौं, चैत ४ : नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेसमा केहीबेरअघि भेला सुरु भएको...
काठमाडौं, चैत ४ : नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
ललितपुरको सानेपामा केहीबेरअघि भेला सुरु भएको हो । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्र माथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।
भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताइएको छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुको पद खोसेपछि एमाले विभाजित भएको छ।
उक्त राष्ट्रिय भेला बिहीबारसम्म चल्ने छ । भेलाका लागि देशका बिभिन्न जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका र केही आउँदै गरेको बताइएको छ । बालुवाटारस्थित ३ गते बसेको चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले नेता तथा कार्यकर्ता भेलामा सहभागी नहुन् चेतावनी दिएता पनि खनाल–नेपाल समूहको राष्ट्रिय भेलामा कार्यकर्ताको उत्साहजनक उपस्थिती देख्न सकिन्छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले २८ गते गरेको निर्णयको बिरोधमा खनाल– नेपाल समुहले भेला गरेको हो । नेकपा एमालेका वरिष्ठ झलनाथ खनाल–माधव नेपाल समूहका पुराना नेताहरु उपस्थित रहेका छन् । कार्यक्रमको अध्यक्षता गरेका वरिष्ठ नेता झलनाथ खनाल भेलामा सहभागी नेता, कार्यकर्तालाई धन्यवाद दिदै कार्यक्रम सुरु गरे।











