अनुमानको भरमा समाचार नलेख्न जोशी परिवारको आग्रह

काठमाडौं, चेत्र ४ : नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यम समक्ष आग्रह गरेको छ ।
बुधबार नविन्द्रराज जोशीको फेसबुक मार्फत एक स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो । ‘कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ’, स्टाट्समा उल्लेख छ ।
गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिए भने केहि नाम चलेका सञ्चारमाध्यमले समाचार समेत सम्प्रेषण गरेका थिए ।
मृत्यु भएको हल्ला फैलिएपछि एकाबिहानै अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल रहेको तर भेन्टिलेटरमा उपचार भईरहेको जनाईसकेको छ । जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।











