Kathmandu Press

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। याेसँगै डिजेल र मट्टीतेलकाे मूल्य एक सय रुपैयाँ नाघेकाे छ।
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत ३ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। याेसँगै डिजेल र मट्टीतेलकाे मूल्य एक सय  रुपैयाँ नाघेकाे छ।

आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ।

यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ।

खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको प्रवक्ता उपाध्यायले बताए।

यस अघि गत महिना पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। फागुनमा दुई पटक मूल्य बृद्धि गरेको निगमले चैतको शुरुआतमै फेरि मूल्य बढाएको हो।

अझै पनि पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको भनाइ छ। त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ।

यो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको प्रवक्ता उपाध्यायले बताए।

यसअघि पेट्रोल प्रतिलिटर ११६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो। निगमले पछिल्लो पटक गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो।

प्रकाशित मिति: २१:०५ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्