प्रधानमन्त्रीसँग हाम्रो पार्टीका मुद्दामा मात्र छलफल गरेका हौँः जसपा वरिष्ठ नेता राई
आजको बैठकमा हामी यस विषयमा प्रवेश गरेनौँ। बैठकको योजना मात्र बनायौँ, भोलिको बैठकमा हामी समायोजनबारे छलफल गर्छौँ। पर्सीको बैठकमा भने हामी वर्तमान परिस्थिति जुन रूपमा विकसित भएर आयो, यसमा जनता समाजवादी पार्टी कसरी अगाडि बढ्ने भन्ने प्रश्नमा हामी छलफल गर्छौँ।
१० वैशाख ०७७ मा तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच भएको एकीकरणपछि जनता समाजवादी पार्टी (जसपा) गठन भयो। अहिले जसपा नयाँ सत्ता समीकरणका लागि मुख्य खेलाडीका रूपमा देखिएको छ। सोही सन्दर्भमा जसपाका वरिष्ठ नेता अशोक राईसँग काठमाडौं प्रेसका लागि शुष्मा बरालीले गरेको कुराकानी :
अहिले राजनीतिको केन्द्रमा रहेको जसपाले नयाँ सत्ता समीकरणमा कतिको दौडधुप गरिरहेको छ?
सत्ता समीकरणमा कसरी जाने, जाने कि नजाने भन्नेबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणीको बैठक बोलाइरहेका छौँ। ५ चैतमा बोलाइएको बैठकको तयारीका लागि योजनाहरू बनाएका छौँ। पार्टी समायोजनको प्रश्न र अन्य समसामायिक राजनीतिक परिस्थितिको निकास कसरी निकाल्न सकिन्छ भन्नेमा छलफल केन्द्रित छन्।
आजको बैठकमा हामी यस विषयमा प्रवेश गरेनौँ। बैठकको योजना मात्र बनायौँ, भोलिको बैठकमा हामी समायोजनबारे छलफल गर्छौँ। पर्सीको बैठकमा भने हामी वर्तमान परिस्थिति जुन रूपमा विकसित भएर आयो, यसमा जनता समाजवादी पार्टी कसरी अगाडि बढ्ने भन्ने प्रश्नमा हामी छलफल गर्छौँ। त्यसका लागि एउटा प्रस्ताव तयार गर्छौँ। ५ चैतमा हुने केन्द्रीय कार्यकारिणीको बैठकमा उक्त प्रस्तावमाथि छलफल हुन्छ।
संसदीय दलको नेता चयनमा किन ढिलासुस्ति भएको हो?
संसदीय दलको नेता चयनको विषय अलि पछाडि धकेलिएलाजस्तो छ। पार्टीको पहिलो बैठकमा विधान पारित गर्ने विषयमा छलफल भए पनि पारित गर्न भ्याइएन। विधानको मस्यौदा तयार भएको छ, विधान पारित भएपछि सोहीअन्तर्गत् संसदीय दलको नेता छान्ने हो।
विधानको मस्यौदा वितरण मात्र भएको छ। अब संसदीय दलको आगामी बैठकमा विधान पारित भएपछि र केन्द्रीय कार्यकारिणीबाट अनुमोदन भएपछि संसदीय दलको नेता चुन्ने काम अगाडि बढ्छ। संसदीय दलले पारित गरेपछि नेता चुन्न केही समस्या छैन। अहिले केन्द्रीय कार्यकारिणीको समायोजन र समसमायिक परिस्थिमा पार्टीको भूमिकासम्बन्धमा छलफल गरिरहेका छौँ। संसदीय दलको नेता चुन्नेभन्दा अन्य विषय बढी महत्वका भएकाले पनि ढिलाइ भएको हो।
संसदीय दलको नेता को चयन हुने सम्भावना छ?
व्यक्तिलाई केन्द्रविन्दुमा राखेर पार्टीभित्र कुनै किसिमको परामर्श भएको छैन। आपसी परामर्शसमेत नभएका कारण अहिले नै संसदीय दलको नेता को भन्ने अवस्था छैन।
सत्ता समीकरणलाई लिएर जसपामा विवाद देखियो भनिन्छ नि?
जसपाका नेताहरूबीच आपसी विवाद नभएर छलफलका क्रममा व्यक्तिले आफ्नो दृष्टिकोण र विचार बाहिर ल्याउँदा जोड र कोण नमिलेको स्थिति हो, निकै ठूलो विवाद होइन। छलफल गर्ने क्रममा विचार विमर्श चलिरहेकाले छलफल गरेर निष्कर्षमा पुग्छौँ।
तीन महिनायता प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देखिएको जसपा उहाँसँगै मिलेर सत्ता गठबन्धनमा जान सक्ने आधार र सिद्धान्तहरू के के छन्?
प्रधानमन्त्री ओलीसँग जसपा मिल्नेभन्दा पनि देशको प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ। त्यसकारण सरकार प्रमुखका रूपमा उहाँसँग स्वाभाविक रूपमा हाम्रा माग र समस्याहरू राखेर यसबारे के दृष्टिकोण छ, यसलाई समाधान गर्न सक्नु हुन्छ कि सक्नु हुन्न भनेर कुराकानी गर्नु अन्यथा होइन। जस्तो- रेशमलाल चौधरी अन्यायपूर्वक थुनामा हुनुहुन्छ, उहाँको रिहाइका बारेमा तपाईंको के दृष्टिकोण हो भन्ने सोध्न पाइन्छ नि।
यस्तै, तराई मधेशको आन्दोलनमा थुप्रै मानिस कोही थुनिएका छन्, कोही तारिखमा छन्, कोही वारेन्टमा छन्। उनीहरूको मुद्दा फिर्ता लिनेसम्बन्धमा प्रधानमन्त्रीको दृष्टिकोण के हो भनेर त राख्ने नै भयौँ नि।
उहाँले संविधान संशोधन गर्छु भन्नुभयो तर गर्नु भएन। त्यसमा अबको दृष्टिकोण को हो भनेर बुझेका हौँ। हिजो संसद् विघटनविरुद्ध हामी आन्दोलनमा थियौँ। सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि नयाँ परिप्रेक्ष्य तयार भयो। त्यस सन्दर्भमा हामीले सत्ता पक्षको अथवा कार्यकारी प्रमुख अहिलेको प्रधानमन्त्रीको विचार पनि सुन्यौँ। प्रमुख प्रतिपक्षी दलका नेताको विचार बुझ्यौँ र सत्तापक्षकै अर्को पार्टी माओवादी केन्द्रको विचार पनि सुन्यौँ। यसबाट जसपाले अगाडि बढ्ने निर्णय गरिरहँदा वस्तुवादी बन्न सकोस् भनेर हामीले तीनैथरिका दृष्टिकोण सुनेका, सोधेका र बुझेका हौँ।