बालुवाटारका निर्णय र भेलामै अलमलियो धुम्बाराही वार्ता
काठमाडौं, चैत २ : नेकपा (एमाले) मुख्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच चलेको तीन घन्टा लामो वार्ता बालुवाटारमा भएका निर्णय र चैत ४...
काठमाडौं, चैत २ :नेकपा (एमाले) मुख्यालय धुम्बाराहीमा दुवै पक्षबीच चलेको तीन घन्टा लामो वार्ता ओली पक्षले बालुवाटारमा गरेका निर्णय र नेपाल पक्षले चैत ४ गते बोलाएको राष्ट्रिय भेलाकाे चर्चामै अलमलिएको छ।
एमाले विभाजनतिर लाग्ने थालेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान धुम्बाराहीमा वार्ता भएको थियो। ओली र नेपालसहित दुवै पक्षका नेताबीच भएको तीन घन्टा लामो वार्ता कुनै निष्कर्षमा पुग्न सकेन्। बरु एकअर्काले लगाएका आरोपप्रत्यारोपमै समय गएको एक नेताले बताए। दुवै पक्षबीच बढेको तिक्तता मेटाउन वार्ता गरिएको भएपनि त्यसो हुन नसकेको जनाएको छ।
ओली पक्षले चैत ४ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न माग गरेको थियो। नेपाल पक्षले भने फागुन २८ गते बालुवाटारमा गरेका निर्णय फिर्ता लिनुपर्नेमा जोड दिएको थियो। ति निर्णय फिर्ता लिए भेला स्थगित गर्ने बताएको थियो। तर, त्यसमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली सहमत भएनन्।
अध्यक्ष ओलीको अडानले गर्दा बालुवाटारमा भएका निर्णय र राष्ट्रिय भेलाबारे चर्चामै वार्ता अलमलिएको अर्का नेताले बताए। 'कमरेड ओलीले निर्णय फिर्ता लिन सहमति जनाएको भए आजको वार्ता फलदायी हुनेथियो,' ति नेताले भने।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताए। पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने उनको भनाइ छ। 'अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ। आजको छलफलले साझा धारणा निर्माण गरेको छ,' उनले भने, 'यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ।'
नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्युँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए। 'बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ,' उनले भने।
प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न माग गरेको बताए। 'हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ,' ज्ञवालीले भने, 'फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो। बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन।'
उनले नेपाल पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुर्याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको बताए।
छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिए। 'फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन,' नेता रावलले भने, 'कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ।'
उनले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताएपछि एमाले २०७५ साल जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए।
पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा छलफल भएको उनको भनाइ छ। 'एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँ । पार्टीलाई एकताबद्ध बनाएर सशक्तरुपमा अगाडि बढाउनेमा हामी दृढ छौँ,' नेता रावलले भने, 'तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएन, भएन, फेरि पनि एमालेलाई विभाजन गर्ने कुनै पनि क्रियाकलापका विरुद्धमा हामी छौं।'
उनले पार्टीलाई एक बनाउनका लागि विधान, पद्धति र प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए। पार्टीको विवाद मिलाउन अहिले र यसअघि भएको निर्णय र गतिविधि स्थगन हुनुपर्ने उनको भनाइ थियो। 'फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छौँ,' उनले भने।
एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो।
आजको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुभास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी थिए। (राससको सहयोगमा)









-1790853075.png)

