एमालेका दुई समूह वार्तामा : ओलीको स्टन्ट कि एकताको पहलकदमी ?
विभाजनको संघारमा रहेको एमालेमा एकताको अभ्यास सुरु भएको देख्न सकिन्छ। संसदीय व्यवस्थामा राजनीतिक दलहरू विभाजनमा अगाडि बढ्नुलाई खराब अभ्यास मानिन्छ। र, त्यही अभ्यास हुन नदिन एमाले नेताहरू वार्ताको टेबलमा बसेका हुन् भने सकारात्मक पहलकदमी मान्न सकिन्छ।
काठमाडौं, चैत २ : सोमबार बिहान नेपाली राजनीतिमा तीनवटा महत्वपूर्ण विकासक्रम देखिए। पहिलो- शीतयुद्धमा रहेका एमालेका दुई समूह वार्ताको टेबलमा पुगे। दोस्रो- उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाए। र, तेस्रो- सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक बोलाए।
तेस्रो विकासक्रमलाई टाढा राखेर हेर्दा विभाजनको संघारमा रहेको एमालेमा एकताको अभ्यास सुरु भएको देख्न सकिन्छ। संसदीय व्यवस्थामा राजनीतिक दलहरू विभाजनमा अगाडि बढ्नुलाई खराब अभ्यास मानिन्छ। र, त्यही अभ्यास हुन नदिन एमाले नेताहरू वार्ताको टेबलमा बसेका हुन् भने सकारात्मक पहलकदमी मान्न सकिन्छ। तथापि, तिक्ततापछि पहिलोपटक वार्ताको टेबलमा आएपछि भविष्यमा थप वार्ता र एकताको पहलकदमी कसरी अगाडि बढ्छ भन्ने हेर्न बाँकी नै छ। ५ पुसमा प्रतिनिधिसभा विघटन भएयता नेपाल-खनाल समूह पहिलोपटक पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेको छ।
यसको पृष्ठभूमि आइतबार नेपाल पक्षका ११ जना स्थायी समिति सदस्यले गरेको ‘चारपन्ने विद्रोह’लाई मान्न सकिन्छ। यो विद्रोह एमाले अध्यक्ष ओलीमाथि दायर आरोप पत्र पनि हो। कम्युनिस्ट पार्टीमा आरोप पत्र दायर हुनुलाई विभाजनको प्रस्थान विन्दुका रूपमा हेरिन्छ।
११ जना स्थायी समिति सदस्यहरूले आफ्नो संयुक्त वक्तव्यमा प्रधानमन्त्री ओलीको छलकपट र दम्भका कारण पार्टी विभाजनको डिलमा पुगेको निश्कर्ष उल्लेख छ। र, ओलीलाई स्वेच्छाचारी संज्ञा दिइएको छ। वक्तव्यमा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटीका सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्रप्रसाद पाण्डेको हस्ताक्षर छ।
‘सम्पूर्ण पार्टी सदस्य र समर्थकहरूले केपी ओलीको राज्यसत्ता संरीक्षत दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ। एमालेको सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूालई पराजित गरी छाड्नेछौँ,’ वक्तव्यमा पार्टी पंक्तिलाई आह्वान गरिएको थियो, ‘केपी ओलीका पार्टी विधानविपरीतका अराजक, स्वेच्छाचारी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका सामु समस्याका रूपमा उपस्थित भएका छन्। हामी त्यस्ता समस्याको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन चाहन्छौँ।’
सोमबारको वार्तामा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई समान हैसियत प्रदान गरिएको पाटोले केही संकेत अवश्य गर्छ। कुर्सी र टेबलको रंग र आकारमा समेत विवाद हुनु कम्युनिस्ट पार्टीमा सामान्य बनिसकेको छ। र एउटै आकार र रंगका टेबल, कुर्सीले एमाले कार्यकर्ता पंक्तिमा आशाको सञ्चार गराएको हुनुपर्छ।
गत शनिबार अनौठो संयोग देखिएको थियो, एमालेमा। उपमहासचिव भुसाल र सचिव योगेश भट्टराई युवा नेता रामकुमारी झाँक्री अध्यक्ष रहेको ‘आईसीडी स्कुल अफ माक्र्सिजम’ले आयोजना गरेको कार्यक्रममा एमाले भविष्यमा कसरी एक रहन सक्छ भन्ने विषयमा प्रवचन दिँदै थिए। प्रधानमन्त्री ओली भने त्यहीबेला भृकुटीमण्डपमा अखिल नेपाल महिला संघको कार्यक्रममा चेतावनीको भाषामा केन्द्रीय कमिटी बैठकमा उपस्थित नहुने नेताहरूलाई कारवाही गरेर पार्टीबाटै निकाल्ने संकेत गरिरहेका थिए। अर्थात्, शनिबारसम्म उनमा पार्टी विभाजनको दिशामा अगाडि बढेको हेक्कासम्म देखिँदैनथ्यो। जब आइतबार ११ स्थायी समिति सदस्यले विद्रोहको भाषा बोले, ओली समूह गल्न बाध्य भएको आकलन सोमबार वार्ताको टेबलमा बस्ने वातावरणबाट लगाउन सकिन्छ।
२८ फागुनमा अध्यक्ष ओलीले सबै पदाधिकारीलाई पदमुक्त गर्दै आफूखुशी जिम्मेवारी दिएपछि उपाध्यक्ष वामदेव गौतमले ओलीसँग एकताको कोर्स समाप्त भएको घोषणा गरेका थिए। त्यतिन्जेल गौतमको झुकाव ओलीतिरै रहेको आरोप नेपाल-खनाल समूहले लगाउँदै आएको थियो। गौतम पनि आफ्नो साथमा नरहने निश्चित भएपछि प्रधानमन्त्री ओली झस्केका हुन सक्छन्।
फेरि पनि वरिष्ठ नेता झलनाथ खनाललाई वार्ताबाट बाहिर राखेर ओली समूहले शंकाको सुविधा कायमै राखेको छ। नेपाल-खनाल समूहका एक युवा नेता यस वार्तालाई ‘पब्लिसिटी स्टन्ट’ मात्र मान्छन्। ‘हिजोसम्म नेपाल-खनाल समूहलाई अपराधी करार गरिरहेका प्रधानमन्त्री ओली आफू तल पर्ने भएपछि पब्लिसिटी स्टन्टमा लागेका हुन सक्छन्,’ उनी भन्छन्, ‘आफ्नो हात माथि परेको देखाएर नेपाल-ओली समूहलाई पार्टी विभाजनको मुख्य कारक देखाउन उनले वार्ताको प्रपञ्च रचेका हुन सक्छन्। उनका क्रियाकलापले पनि यसलाई एकताको पहलकदमीका रूपमा विश्वास गर्न सकिँदैन।’
नेपाल-खनाल समूहका केन्द्रीय सदस्य डा. विजय पौडेल पनि यस वार्तालाई सकारात्मक दिशातर्फको पहल रहेको विश्वास गर्दैनन्। ‘फेरि झुक्याउन सक्छन्। यो झुक्याउने खेल हो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘जुन विन्दुबाट गल्ती भएको हो, त्यहीँबाट सुधार थाल्नुपर्छ, अनि मात्र विश्वसनीय वातावरण बन्छ। प्रतिनिधिसभा विघटन, एकता आफैंले भाँड्न खोजेको, सरकारका नीति तथा कार्यक्रम ल्याउँदा पार्टीसँग परामर्श नगर्नु गल्ती थियो, एकपक्षीय रूपमा पदाधिकारीलाई पदमुक्त गर्ने र नयाँ जिम्मेवारी दिनु गल्ती थियो भनेर स्वीकार्दा मात्र पार्टी एकताको पहलकदमी देखिन्छ।’
ओलीले आफ्ना गल्ती स्वीकार्ने विश्वासमा नेपाल-खनाल समूह देखिँदैन। धोकापूर्ण राजनीति गर्दै आएका ओलीले आत्मालोचना गर्नेमा उक्त समूह विश्वस्त छैन। ‘प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुपर्यो, साथीहरू मिलौँ, एकता कायमै राखौँ भन्नुपर्यो,’ डा. पौडेल भन्छन्, ‘अनि मात्र विश्वासको वातावरण बन्छ।’
पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय नै नभएको बताउँदै ओली समूह यतिबेला त्यसबाट उत्पन्न ‘ब्याक फायर’बाट बच्ने प्रयत्न गरिरहेको छ। जब कि, प्रधानमन्त्री ओली आफैँले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई पदमुक्त गरिएको अभिव्यक्ति दिएका छन्।










-1790853075.png)
