Kathmandu Press

धुम्बाराहीमा ओली–नेपाल भेटवार्ता हुँदै

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ । एमाले अध्यक्षसमेत...
धुम्बाराहीमा ओली–नेपाल भेटवार्ता हुँदै

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ । एमाले अध्यक्षसमेत रहेका ओलीले बालुवाटार बोलाए पनि नेता नेपालले त्यहाँ जान इन्कार गरेपछि पार्टी कार्यालयमै भेट गर्ने कार्यक्रम तय गरिएको स्रोतले जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अस्तित्वमा हुँदै पार्टी विधि र पद्धतिका आधारमा चल्नुपर्छ भन्ने आवाज सशक्त ढंगले उठाउँदै आएका नेता नेपाल र एकलौटी ढंगले पार्टी चलाएको आरोप खेप्दै आएका अध्यक्ष ओलीबीच लामो समयदेखि आरोप प्रत्यारोप चल्दै आएको थियो।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको कदम चालेपछि त्यसलाई असंवैधानि भन्दै खरो रूपमा विरोधमा उत्रिएका नेता नेपालले हाल नेकपा माओवादी केन्द्र अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहकार्य गर्दै आएका थिए।

तर नेकपा नाम विवाद मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले फागुन २३ गते एकीकरण बदर गरेर एमाले र माओवादी केन्द्रलाई पूर्वत् अवस्थाकै अस्तित्व दिएपछि नेता नेपालले एमालेभित्रै संघर्ष गर्ने निर्णय गरेका थिए। तर आफूपक्षीय पदाधिकारीहरूको जिम्मेवारी ओलीले एकपक्षीय ढंगले खोसेपछि नेपाल चिढिएका थिए। 

समानान्तर कमिटी निर्माणको अभ्याससमेत थालेका नेपालले चैत ४ र ५ गते राष्ट्रिय कार्याकर्ता भेला पनि बोलाइसकेको अवस्था छ। आइतबार प्रचण्डसँग पनि नेपालले भेट गरेका थिए। त्यसैको भोलिपल्ट (आज सोमबार) ओलीले नेता नेपालसँग गर्न लागेको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

आज ओली–नेपाल बीच चार महिनापछि भेट हुन लागेको हो । पछिल्लोचोटि कात्तिक २५ गते बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए। ओलीले आज धुम्बाराहीमा चियापानको समेत व्यवस्था गरेको जनाइएको छ।

प्रकाशित मिति: ११:२० बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्