रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जीत

काठमाडौं, चैत्र २ : इटालियन सिरी ए फुटबलमा युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले युभेन्टसले काग्लीअरीमाथि ३ १ को जित हासिल गरेको हो ।
रोनाल्डोले खेलको १०औं, २५औं र ३२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। यस सँगै रोनाल्डो आफ्नो क्यारियरमा ७७० गोल गर्दै ब्राजिलमा महान खेलाडी पेलेको ७६७ गोलको किर्तीमानलाई तोडेका छन्। आफ्नो किर्तिमान तोडेपछि पेलेले पनि रोनाल्डोलाई बधाई दिएका छन्।
त्यस्तै काग्लीअरीका लागि गिओभानी सिमेओनले एक गोल फर्काएका थिए। च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टस उत्कृष्ट प्रदर्शन गर्दै सिरी ए मा भने विजयी लयमा फर्किएको छ। यो जितपछि युभेन्टसको २६ खेलमा ५५ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै गएराती भएको खेलमा नापोलीसँग मिलान पराजित भएपछि त्यसको सिधै फाइदा युभेन्टसलाई भएको छ । मिलानको २७ खेलमा ५६ अंक रहेको छ ।











