Kathmandu Press

ओली पक्षका निर्णयलाई मान्यता नदिन नेपाल पक्षको निर्वाचन आयोगमा उजुरी

ओली पक्षका निर्णयलाई मान्यता नदिन नेपाल पक्षको निर्वाचन आयोगमा उजुरी

काठमाडौं, चैत १ : नेकपा (एमाले)को ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिन नेपाल पक्षले निर्वाचन आयोगमा उजुरी दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएर माधवकुमार नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेको थियो। त्यस्तै, जिम्मेवारी हेरफेर र महाधिवेशनको निर्णय गरेको थियो।

त्यसलाई वैधानिकता नदिन माग गदै नेपाल पक्षले निर्वाचन आयोगमा उजुरी दिएको हो। आइतबार एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्म शाक्य र भीम रावल, उपमहासचिव धनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेले उजुरी दिएका छन्। अनधिकृत निर्णय रोक्न माग गर्दै उजुरी दर्ता गरिएको एमाले नेता राजेन्द्र पाण्डेले बताए।

उजुरीमा एमाले पदाधिकारी महाधिवेशनले निर्वाचित गर्ने, विधान संशोधन राष्ट्रिय अधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने व्यवस्था रहेको पनि नेपाल समूहले उल्लेख गरेको छ। त्यस्तै, एमालेमा पहिले सचिवालय, त्यसपछि स्थायी कमिटी र अनि मात्रै केन्द्रीय कमिटी बैठक बस्ने प्रचलन रहेको पनि निर्वाचन आयोगलाई जानकारी गराएको छ।

सर्वोच्च अदालतले फागुन २३ गते दिएको फैसला अनुसार एमाले र माओवादी केन्द्र अलग भएका थिए। फैसला अनुसार पुरानो कमिटी ब्युँत्याएर पार्टीलाई क्रियाशील गराउनु पर्नेमा गुटको भेला गरेर निर्णय गरेको नेपाल पक्षको भनाइ छ।

 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्