सिरहा मालपोतमा भएकाे बम विस्फोटका घाइतेकाे पहिचान खुल्याे
लहान, चैत १ : सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा दिउँसो पौने १ बजेतिर भएको प्रेसर कुकर बम विस्फोटका घाइते सबैकाे पहिचान खुलेकाे छ।सुरुमा...
लहान, चैत १ : सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा दिउँसो पौने १ बजेतिर भएको प्रेसर कुकर बम विस्फोटका घाइते सबैकाे पहिचान खुलेकाे छ।
सुरुमा सात जना घाइते भएकाे जानकारी आए पनि एक जना पछि पहिचान भएको बताइएको छ। घाइते दुईजनाको अवस्था गम्भीर छ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा बम विस्फोट भएको थियो । बमको छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यवसायी ७८ वर्षीय भोला पाचे मगर घाइते भएका हुन्।
घाइते अन्यमा सेवाग्राही सिरहाको धनगढीमाई नगरपालिका-१३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका-१६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका-३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका-४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार-६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो।
विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ। आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उनका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा फेला परेको छ।










-1790853075.png)
