Kathmandu Press

हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

काठमाडौं, चैत्र १ : हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक...
हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

काठमाडौं, चैत्र १ : हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।

Hardik ivf

यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाहीले बताउनुभयो । उनले भने, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”

हिउँदको समयमा बेमौसमी तरकारी बोकेर सदरमुकाम सिमकोट पुर्‍याउँदा एक मुठा सागको रु ३० र धनियाँ रु २० मा बिक्री गर्ने गरेको कृषक शाहीले बताए । आफूले आफ्नो घरमा बेमौसमी तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको उनले जानकारी दिए । यसबाट महिनाको करिब रु सात हजारसम्म कमाउने गरिएको उनले बताए । 

सदरमुकाम सिमकोट आसपासका गाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांश गाउँपालिकाका कृषकलाई भने उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नपाउँदा समस्या भएको बताइएको छ ।
 

प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्