प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन ओलीकाे चुनौती
काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन चुनौती दिएका छन्।१११औं अन्तर्राष्ट्रिय महिला दिवसकाे सन्दर्भ पारेर...काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन चुनौती दिएका छन्।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसकाे सन्दर्भ पारेर नेकपा एमालेनिकट अखिल नेपाल महिला संघद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई जालझेल गरेर हटाइहाले २० महिनापछि फेरि दुई तिहाइ बहुमतसहित सिंहदरबारमा प्रवेश गर्ने दाबी गरे।
२०७३ सालमा प्रधानमन्त्रीबाट हाटाइएको १९ महिनापछि झन्डै दुई तिहाइ बहुमतसहित सत्तामा आएको उल्लेख गर्दै ओलीले भने, ‘कसैले हटाएर देखाउन सक्छ भने हटाओस्, जालझेल गरोस्, षड्यन्त्र गरोस्, मोर्चा कसोस्, मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस्, २० महिनापछि फेरि यो पार्टी, सूर्यचिह्नधारी पार्टी, नेकपा एमाले नामको पाटी दुई तिहाइको बहुमतका साथ सिंहदरबारको मूलगेटबाट फेरि पस्छ,’ उनले भने, ‘हामीलाई प्रतिपक्षमा रहन कुनै गाह्रो छैन, बस्न तयार छौं, प्रतिपक्षमा पनि बस्न तयार, हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं ।’
प्रधानमन्त्री ओलीले चैत ७ गते बालुवाटारमा बैठकमा बैठक बाेलाएकाे जानकारी दिँदै माधव नेपाल पक्षलाई सहभागी हुन आग्रह गरे। शुक्रबार बोलाइएको बैठकमा आइपुग्न नभ्याएकाे र अर्को बैठक नछुटोस् भनेर बैठक अलि पछि राखेकाे भन्दै उनले नेपाल समूहप्रति व्यंग्य गरे। नेपाल समूहलाई इंगित गर्दै उनले पहिलेदेखि नै केन्द्रीय कमिटी बैठक छुटाइरहेको जानकारी गराए।
‘अदालतको फैसलापछि पेरिसडाँडाबाट रुवाबासी गर्दै बिदावारी भएर हिँड्नुभएको थियो रे, अर्याल होटलसम्म आइपुग्नुभाछ रे, त्यहाँ एकदुई रात बास बस्नुभाछ भन्ने सुनें, बैठकमा आइपुग्नुभाको छैन, प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु,’ उनले भने, ‘यति बिघ्न टेलिभिजनले खिच्याछ । लाइभ गरिराको होला। सुनेन भन्न पाइनेछैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, आउनुहोला।’
बैठकमा अनुपस्थित रहँदै गए विधानको व्यवस्थाअनुसार कारबाही गर्दै जाने संकेत पनि उनले गरे।
शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर एकपक्षीय ढंगले केन्द्रीय कमिटी हेरफेर तथा केन्द्रीय सदस्य मनोनीत गरेको सन्दर्भमा उनले काम गर्दै जान कसैलाई जिम्मेवारी तोकेको तर कसैलाई नहटाएको दाबी गरे।
केही असन्तुष्टि भए दलिनमा टाउको ठोक्किनेगरी उफ्रिनुको सट्टा बैठकमा आएर छलफल गर्न उनले आग्रह गरे। उनले अलमलमा नपर्न र बाटो नबिराउन कार्यकर्तालाई आग्रह गरे।










-1790853075.png)
