Kathmandu Press

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन ओलीको निर्देशन

काठमाडौं, फागुन २९ : सत्तारुढ नेकपा (एमाले)को ओली पक्षको केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेश सभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वास...
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन ओलीको निर्देशन

काठमाडौं, फागुन २९ : सत्तारुढ नेकपा (एमाले)को ओली पक्षको केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेश सभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ।

पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै बैठकले प्रदेश सभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पार्टी निर्णयअनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको हो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध एमालेकै सांसद र नेकपा (माओवादी केन्द्र)का सांसदको हस्ताक्षरका आधारमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

दुई पार्टीबीच २०७५ जेठ ३ गते भएको एकता बदर भएकाले पुनः एकता गर्ने भएमा आवेदन ल्याउन निर्वाचन आयोगले दिएको म्यादभित्र एकता सम्भव नभएको जनाएको छ। सही विचार र सङ्गठनका आधारमा कम्युनिष्ट एकताको प्रयासलाई जारी राख्ने एमाले बैठकले निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले अदालतको निर्णय ‘जे जस्तो रहेको भए पनि’ यसलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय गरेको छ। बैठकले सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा सङ्गठनात्मक आधारमा एकतावद्ध बनाउने प्रयाश जारी राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई विगतका गल्तीलाई सच्याउँदै आत्म समीक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गर्दै पार्टीमा सदस्यता प्राप्त गर्दा तथा आफ्नो जिम्मेवारी बहन गर्दा लिएको शपथकोे मर्म र भावनालाई पालना गरी देश, जनता र आन्दोलनको हितलाई केन्द्रविन्दुमा राखेर एकताबद्ध भई अगाडि बढ्न  सबैसँग आग्रह गरेको छ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेता भने आजको निर्णयबाट असन्तुष्ट भएको जनाइएको छ।

ओलीको पक्षमा उभिएका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साहलगायत नेकपा (माओवादी केन्द्र)बाट आएका २३ जनालाई केन्द्रीय कमिटीको जिम्मेवारीमा स्थापित गर्ने निर्णय गरेको छ।

बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद (७० वर्ष), कमिटीको संरचनालगायत कतिपय प्रश्नमा नवौँ महाधिवेशनबाट पारित विधानका व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ। बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही सङ्गठनात्मक प्रबन्ध गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ।

बैठकमा अध्यक्ष ओलीले यसबीचमा पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र गरिए पनि आम जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताको सक्रियताले त्यसलाई विफल पारिएको बताएका थिए।

केन्द्रीय कमिटीको नियमित बैठक यही २०७७ चैत ७ गते बस्ने निर्णय पनि निर्णय गरेको छ।

प्रकाशित मिति: ०६:४२ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्