Kathmandu Press

नेपाल पक्षका सबै पदाधिकारी आउट

प्रधानमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’ लाई बाग्मती प्रदेशको इन्चार्ज बनाएका छन्।
नेपाल पक्षका सबै पदाधिकारी आउट

काठमाडौं, फागुन २८ : नेकपा एमालेका अध्यक्ष केपीओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै पदाधिकारीलाई हटाएका छन्।

पदाधिकारीमा उनले महासचिव मात्रै कायम राखेका छन्। पार्टीका महासचिव ईश्वर पोखरेल हुन्।

प्रधानमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’ लाई बाग्मती प्रदेशको इन्चार्ज बनाएका छन्। यसअघि उक्त जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य थिइन्।

बैठकले तत्कालीन नेकपा ओली समूहमा लागेका र सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएको अवस्थामा पनि ओलीलाई नछाडेका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ।

बैठकले विदेश विभाग प्रमुखबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्त गरेको छ।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई बनाइएको छ। यसअघि उक्त जिम्मेवारीमा भीम रावल थिए। 

कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी यमलाल कँडेललाई दिइएको छ। नेपाल पक्षीय युवराज ज्ञवालीको सो जिम्मेवारी खोसिएको हो। 

प्रदेश १ मा भीम आचार्यको ठाउँमा सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन्। 

एमालेको २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो। त्यतिबेला उपाध्यक्षमा विद्या भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल चुनिएका थिए।

त्यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका थिए।

प्रदेश इन्चार्जहरू सत्यनारायण मण्डल (प्रदेश २), पृथ्वीसुब्बा गुरुङ (गण्डकी) र शंकर पोखरेल (लुम्बिनी) कायमै छन्। उनीहरु ओली पक्षका नेताहरु हुन्।

बैठकले तत्काली नेकपा दुई समूहमा विभाजित आफ्नो समूहले गरेको सबै नियुक्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक चैत १ गतेका लागि बोलाएको छ। त्यसको पूर्वसन्ध्यामा भएको यस किसिमको निर्णयले विवादले झनै उग्र रूप लिने देखिएको छ। 

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्