Kathmandu Press

जसपा संसदीय दलको नेता महन्थ कि राजेन्द्र?

नयाँ सत्ता समीकरणको दौडधुप चुलिएपछि जसपा त्यसको ‘की प्लेयर’ बनेको छ। सोही कारण संसदीय दलको नेता चयन गर्नुपर्ने बाध्यतामा उक्त पार्टी परेको हो।
जसपा संसदीय दलको नेता महन्थ कि राजेन्द्र?

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चयन गर्न शुक्रबार बैठक बस्दैछ। गत १० वैशाखमा राष्‍ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जसपा गठन भएको थियो। पार्टीले हालसम्म संसदीय दलको नेता चयन गरेको थिएन।

नयाँ सत्ता समीकरणको दौडधुप चुलिएपछि जसपा त्यसको ‘की प्लेयर’ बनेको छ। सोही कारण संसदीय दलको नेता चयन गर्नुपर्ने बाध्यतामा उक्त पार्टी परेको हो।

स्रोतका अनुसार पार्टी एकीकरणका बेलामा महन्थ ठाकुर उपेन्द्र यादव पार्टी अध्यक्ष बन्‍ने र राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने ‘जेन्टलम्यान एग्रिमेन्ट’ भएको थियो। तर, विकसित नयाँ राजनीतिक घटनाक्रममा महन्थले पनि संसदीय दलको नेता बन्‍न चाहेको स्रोत बताउँछ। तर, महतोले ११ महिनाअघिको ‘जेन्टलम्यान एग्रिमेन्ट’ कार्यान्वयन हुनुपर्ने अडान स्रोतको भनाइ छ।

‘मतदान भयो भने ठाकुर नै संसदीय दलको नेता बन्‍ने सम्भावना छ। तर, ‘जेन्टलम्यान एग्रिमेन्ट’ कार्यान्वयन गर्ने हो भने महतोलाई सर्वसम्मत नेता चयन गर्नुपर्नेछ,’ जसपाका एक केन्द्रीय सदस्यले भने। ठाकुरले ‘जेन्टलम्यान एग्रिमेन्ट’ तोड्दा उपेन्द्र यादवले पनि संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गर्न सक्छन्।

डा. बाबुराम भट्टराईलाई संसदीय दलको नेता बनाउने सम्भावना कमजोर देखिएको ती केन्द्रीय सदस्य बताउँछन्। तत्कालीन राजपामा ठाकुर र समाजवादी पार्टीमा यादव संसदीय दलको नेता थिए।

तत्कालीन राजपा र संघीय समाजवादी पार्टीसँग प्रतिनिधिसभामा १७-१७ गरी ३४ जना सांसद थिए। तर, राजपाबाट विजयी रेशमलाल चौधरी र संघीय समाजवादीका हरिनारायण चौधरी हाल निलम्बनमा छन्। सोही कारण जसपासँग हाल ३२ सांसद छन्। यस्तै, राष्‍ट्रियसभामा तत्कालीन राजपाका दुई र संघीय समाजवादीका एक सांसद छन्।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पाँच शीर्ष नेताको बैठकबाट शुक्रबार संसदीय दलको नेता चयन गर्ने निर्णय भएको थियो।

सत्ता समीकरणलाई लिएर जसपामा विवाद देखिएको छ। डा. भट्टराई, यादवलगायत नेता प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने अडानमा देखिँदै आएका छन्। ठाकुर, महतोलगायत नेतामाथि वर्तमान सरकारप्रति ‘सफ्ट कर्नर’ राखेको आरोप लाग्दै आएको छ।

नयाँ सत्ता समीकरणमा सहभागी हुन जसपाले सांसद रेशमलाल चौधरीको रिहाइ, संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सहिद घोषणालगायत शर्त अगाडि सारेको छ। बालुवाटारमा भएका विभिन्‍न चरणका बैठकका क्रममा ती माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीले मौखिक सहमति दिएको दाबी ठाकुर पक्षका नेताहरूको छ। तर, उधारो सहमतिमा सहकार्य गर्न नहुने आवाज पनि जसपाभित्र बलियो छ।
 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्