हराएको दाइ ४० वर्षपछि जेलमा भेटिँदा...
चिठ्ठी पाएपछि परिवारजनले खोजीका लागि दमदम जाने तयारी गरे। ०७० असोज–कात्तिकमा जाने योजना बनाएको प्रकाशचन्द्रले सुनाए। अर्का दाइ र भिनाजुसँगै खोज्न जाने तयारी गरेको बताउँदै उनी भन्छन्, ‘तर, ०७० साउनमा भिनाजु बित्नुभयो, असोजमा दाइ पनि बित्नुभयो।’
काठमाडौं, फागुन २८ : भारत कोलकाताको जेलभित्र त्रसित र डराएको एउटा अनुहार जब अगाडि उभियो, इलाम माई नगरपालिका–१० का प्रकाशचन्द्र तिमिल्सेना चकित परे। उनलाई पत्याउन मुस्किल पर्यो। प्रकाशचन्द्रका दाइ (ठूलोबाबाका छोरा) दुर्गा ४० वर्षअघि हराएका थिए। त्यतिबेला प्रकाशचन्द्र कक्षा ८ मा पढ्थे। दुर्गाका बारेमा धमिलो याद थियो उनलाई । दाइलाई भेट्न प्रकाशचन्द्र भारत कोलकातास्थित दमदम जेल पुगेका थिए, जहाँ दुर्गाले जेल जीवन विताइरहेको खबर पाएका थिए।
फागुन ११ गते जेलमा पहिलोपटक भेट्दा दुर्गाले कुराकानी गर्न नसकेको उनी बताउँछन्। ‘शुरुआतमा त दाइले केही डराएजस्तो गर्नुभयो, त्यति खुल्नु भएन,’ प्रकाशचन्द्रले भने।
विस्तारै कुराकानी हुँदै गएपछि प्रकाशचन्द्रले दुर्गासँग साढे तीन घन्टा बिताए। त्यो समयमा प्रकाशचन्द्रले दुर्गासँगै चिया, बिस्कुट खाए र आफ्ना दाइ हुन् कि होइनन् भनेर थुप्रै जिज्ञासा राखे। ‘लामो कुराकानीपछि ४० वर्षदेखि हराएका मेरा दाइ यिनै हुन् भन्नेमा विश्वस्त भएँ,’ प्रकाशचन्द्र सुनाउँछन्, ‘म भाइ हुँ भनेपछि हात समातेर अंगालो हाले।’
दुर्गा अहिले ६१ वर्षका भए। सात वर्षको छँदा बुवाको मृत्यु भएको थियो। त्यसपछि आमाकै रेखदेखमा हुर्किएका उनी दुई भाइ र एक बहिनीको हेरचार पनि गर्थे। उनकी आमाको दाहिने हात भाँचिएपछि काटेर फाल्नुपर्यो। त्यसपछि दुर्गाको जिम्मेवारी झन् बढ्यो।
२१ वर्षीय दुर्गा ०३७ सालमा बुधबारे मेलामा तोरी बेच्न गएका थिए। त्यसपछि भने घर फर्केनन्। उनका आफन्तको घर पनि बुधबारेमा थियो। उतै बसे होलान् भन्ने सोचेर केही दिन खोजबिन भएन। एक साता बितेपछि भने खोजबिन त थालियो तर दुर्गा भेटिएनन्।
प्रकाशचन्द्रका अनुसार प्रहरीमा पनि खोजबिनका लागि निवेदन दिइयो । ‘सीमा वरिपरि सबै सोधखोज गर्दा पनि भेटिएन। अनि भारततिरै गयो होला भन्ने अनुमान गर्यौं,’ प्रकाशचन्द्र भन्छन्।
दुई, चार महिना हुँदै वर्ष बिते। पैसा कमाएर आउला भन्ने आशमा बसेका परिवारजनले लामो समयसम्म कुनै खबर पाएनन्। त्यही समयमा दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पनि चलिरहेको थियो। ‘आन्दोलनमा जो पनि मारिन सक्छ। कतै त्यहीँ केही पो भयो की भनेर सोच्थ्यौँ,’ प्रकाशचन्द्र भन्छन्, ‘केही खबर नपाए पनि फर्किन्छन् कि भन्ने आश थियो।’
उनी हराएको ३२ वर्षपछि ०६९ सालको अन्त्यतिर एउटा चिठ्ठी आयो, जुन दुर्गाले नै पठाएका थिए। चिठ्ठीमा लेखिएको थियो, ‘म दमदम जेलमा छु।’ जुन जेल भारतको कोलकातामा थियो।
चिठ्ठी पाएपछि परिवारजनले खोजीका लागि दमदम जाने तयारी गरे। ०७० असोज–कात्तिकमा जाने योजना बनाएको प्रकाशचन्द्रले सुनाए। अर्का दाइ र भिनाजुसँगै खोज्न जाने तयारी गरेको बताउँदै उनी भन्छन्, ‘तर, ०७० साउनमा भिनाजु बित्नुभयो, असोजमा दाइ पनि बित्नुभयो।’
त्यसपछि चिनजानका दार्जिलिङका गुञ्जन शेर्पासँग सम्पर्क गरेर खोजीका लागि जाने तयारी गरे। गुञ्जनले ६–६ महिनामा कैदीलाई दार्जिलिङ ल्याउने गरेको र त्यही समयमा खबर गरुँला भनेका थिए। तर, आठ महिना बित्दा पनि कुनै खबर आएन, बरु गुञ्जनसँग पनि सम्पर्क हुन छोड्यो।
लामा समयपछि ०७६ सालमा फेरि गुञ्जनसँग सम्पर्क भयो। चैतमा भारत जाने तयारी गरेका थिए, ठ्याक्कै लकडाउन भयो। त्यसपछि भारत जान नपाएको प्रकाशचन्द्र बताउँछन्।
चार महिनाअघि दमदम जेलबाटै फोन आयो। त्यही जेलमा रहेका अर्का व्यक्तिले फोन गरेर भने, ‘दुर्गा यहिँ जेलमा छ, निकाल्नुपर्छ।’ त्यसपछि प्रकाशचन्द्रले ‘विश्व सेवा विस्तार मञ्च संस्था’का इन्द्र बस्नेतले सम्पर्क गरी आवश्यक सहयोग गरे। केदार शर्मा अधिकारी, सत्यकृष्ण खरेल, अरुण सिंहलगायतले कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गराए।
त्यसपछि मञ्चले वेस्ट बंगाल रेडियो क्लबसम्म पुर्याइदिएको उनी बताउँछन्। यो क्लब बेपत्ता र जेलमा समस्यामा परेका मानिसको उद्धारमा संलग्न छ। मञ्च र क्लबको सहयोगमै कोलकाता पुगेको उनी बताउँछन्।
त्यही जेलमा बस्दा दुर्गासँग कुराकानी गरेका भारतकै राधेश्याम दासले वेस्ट बंगाल क्लबसम्म पनि खबर पुर्याएको उनी बताउँछन्। त्यसपछि क्लबका सचिव अम्बरिस नाग विश्वासले दमदम जेलमा सम्पर्क गरेर सोधखोज गरे। उनकै पहलमा भारतका अन्य व्यक्तिहरूमार्फत भेटघाट हुन पाएको प्रकाशचन्द्र बताउँछन्।
प्रकाशचन्द्र फागुन ७ गते कोलकाता गएका थिए। र, फागुन १० गते दाइ दुर्गासँग भेट गरे। ‘लामो कुराकानी र धेरै सोधपुछ गरेपछि दाइ हो भन्ने पक्का भयो,’ उनी खुशी हुँदै सुनाउँछन्।
भारतीय वकिलहरूको सहयोगमा फागुन १३ गते कोलकातास्थित उच्च अदालतमा जेलमुक्तिका लागि निवेदन दिएका छन्। फागुन २६ गते पहिलो सुनुवाइ भएको छ र चैत २ मा दोस्रो सुनुवाइ तोकिएको प्रकाशचन्द्रले बताए। ‘दोस्रो सुनुवाइपछि भने दाइलाई छोडिदिन्छ होला,’ उनको आश छ।
दुर्गाविरुद्ध तीनवटा मुद्दा लागेका छन्, तीनैवटा हत्यासँग सम्बन्धित छन्। ‘हत्याका तीन मुद्दाबारे हल्लाहल्लामै सुनेका हौं, सत्यतथ्य के हो भन्ने थाहा छैन,’ प्रकाशचन्द्र भन्छन्।
प्रकाशचन्द्र तिम्सिनाको वंशावली तयार गर्ने, खोजबिन गर्ने समितिमा थिए। त्यस क्रममा पनि दाइको खोजी जारी रहेको उनी बताउँछन्। ‘खोजबिन गर्दै गर्दा भेटिइ पो हाल्नु हुन्छ कि भन्ने लागेको थियो,’ उनी भन्छन्।
पछिल्लोपटक उनी दमदम जेलमा रहेको सुनाउँदा भने आफन्तजनले नपत्याएको उनी बताउँछन्। ‘ठूलीआमा, भाइ, बहिनी कसैले पनि पत्याएनन्। आमाले भने तैले भनेपछि आउँछ कि भन्ने आशा पलाएको छ भनेपछि कोलकाता हिँडे,’ प्रकाशचन्द्र भन्छन्।
दाइ भेटिएकोमा जति खुशी छन्, यतिका वर्ष आफन्त बेपत्ता हुँदाको पीडा त्यत्तिकै सहेका पनि छन्। उनी भन्छन्, ‘कुनै परिवारबाट सदस्य लापत्ता हुँदाको पीडा त्यो परिवारलाई मात्रै थाहा हुन्छ। त्यो पीडा व्यक्त गर्न सकिँदैन।’