बेलायती ‘जियोफिजिकल सर्वे’ टोली नेपालमा
काठमाडौं, फागुन २७ : बेलायतबाट सम्पदा खोजअनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू-भौतिकी सर्वेक्षण) टोली नेपाल आएको छ। मार्च पहिलो साता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोजअनुसन्धान...
काठमाडौं, फागुन २७ : बेलायतबाट सम्पदा खोजअनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू-भौतिकी सर्वेक्षण) टोली नेपाल आएको छ। मार्च पहिलो साता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोजअनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ।
बेलायतबाट आठजनाको भू-भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गरिरहेको विभागका निर्देशक दामोदर गौतमले बताए। उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । ‘पहिलो चरणमा जमिनमुनि के-कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्न लागेका हौं,’ उनले भने।
टोलीले कपिलवस्तुको सर्वेक्षणपछि रुपन्देही, नवलपरासी, जनकपुर, ठोरी, काभ्रेपलाचोकको पाँचखाललगायत स्थानमा भेटिएका पुरातात्विक सम्पदाको सर्वेक्षण गर्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उहाँका अनुसार टोलीले पाँचखालमा मार्च अन्तिम अर्थात् चैतको तेस्रो साता सर्वेक्षण गर्नेछ । उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खनन्का क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गर्ने जनाएको हो ।
विभागका महानिर्देशक गौतमका अनुसार सर्वेक्षण टोलीका लागि थप नेपाली जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी विभागले गरेको छ। विभागले संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को) लाई गत असार (सन् २०२० जुन २९) मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ।
काभ्रेपलाञ्चोकका तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीचक्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वेको आवश्यकता रहेको जनाइएको छ।
पाँचखाल क्षेत्रमा उत्खनन्का क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार गरिएको प्रतिवेदनमा पाँचखाल नगरपालिका-२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिका खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ।











