एमालेभित्र ओलीविरुद्ध नेपाल–खनाल मोर्चाबन्दी
काठमाडौं, फागुन २७ : नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षीय नेताहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्दै पार्टीभित्रको संघर्षलाई कसरी...
काठमाडौं, फागुन २७ : नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षीय नेताहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्दै पार्टीभित्रको संघर्षलाई कसरी सशक्त बनाउन सकिन्छ भनी दैनिकजसो छलफल गर्दै आएका छन्।
आज (बिहीबार) पनि आफू पक्षीय स्थायी कमिटी सदस्यहरूसँग नेता नेपाल-खनालले छलफल गरे। छलफलले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आफ्नो कब्जामा लिने र हिजोका दिनमा फरक समूहसँग सहकार्य गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध वरिष्ठ नेताद्वय नेपाल र खनालले वक्तव्य जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
सर्वोच्च अदालतको फैसलापछि सबै एकैपटक एमाले बनेकाले कसैले कसैमाथि निषेधको राजनीति गर्न नहुने, कोही पहिलेदेखि एमाले भएको कोही पछि भएको जस्तो व्यवहार पार्टीमा हुन नहुने भनी बैठकमा छलफल भएको बताइएको छ।
सो समूहले एमालेको नेतृत्वमा रहेको सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र वाम गठबन्धनको सरकार बनाउनतिर लागिपर्ने निष्कर्ष निकालेको जनाइएको छ।
मंगलबार नेपाल-खनाल पक्षका सांसदबीच छलफल भएको थियो भने बुधबार पनि उनीहरु पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बसेको थियो।
बुधबारको बैठकले नेकपा एमालेलाई एकताबद्ध बनाएर लान अध्यक्ष केपी ओलीको भूमिका कस्तो रहनेमा भर पर्ने निष्कर्ष निकालेको थियो। आफूहरू एकताको पक्षमा रहेको तर आत्मसमर्पण भने गर्न नसकिने साझा धारणा बनेको बैठकमा सहभागी एक नेताले बताएका थिए।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरेसँगै ती दुई पार्टी पुनः ब्युँतिएका थिए ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएको थियो।
ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर पार्टीको नाम नेकपा र चुनाव चिह्न सूर्य प्राप्तिका लागि संघर्ष गरिरहेकै बेला सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि प्रतिनिधिसभाको पुनःस्थापना भएको थियो।
संसदीय अभ्यासबाटै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेकै बेला सर्वोच्चले उकीकरण भएका दुई पार्टीलाई पूर्ववत् अवस्थामा पुर्याएपछि राजनीतिले कोल्टे फेरेको थियो।
बदलिएको राजनीतिक परिस्थितिलाई स्वीकार गर्दै सहकार्य गरिरहेका दुई नेता प्रचण्ड र नेपाल समूहले आ-आफ्नै पार्टीमा फर्केर अघि बढ्ने निर्णय गरेका थिए।
त्यसयता नेकपा एमालेभित्र आफूहरूलाई लक्षित गरेर तिक्ततापूर्ण गतिविधि हुन सक्ने भन्दै त्यसको कसरी सामना गर्ने भनेर नेपाल पक्षका नेताहरूले आशंका गरेका थिए।
आजको छलफलमा नेता नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र पदेन सदस्य अमृतकुमार बोहोरा सहभागी थिए।











-1790853075.png)