Kathmandu Press

काठमाडौं मेयर्स कप क्रिकेट : फाइनलमा पुलिसको प्रतिद्वन्द्वी को ?

५ टिम सहभागी प्रतियोगिताको लिग चरणका २ खेल मात्र बाँकी रहँदा नेपाल पुलिस क्लब ४ खेलमा ३ जित निकाल्दै फाइनल पुगेको छ भने फाइनल पुग्ने अर्को एक टिमका लागि चार टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, बागमति प्रदेश र काठमाडौं मेयर्स ११ बीच प्रतिस्पर्धा हुने भएको छ।
काठमाडौं मेयर्स कप क्रिकेट : फाइनलमा पुलिसको प्रतिद्वन्द्वी को ?

काठमाडौं, फागुन २७ : काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरिरहेको काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा लिग चरणका खेल आज (बिहीबार) सकिँदैछ।

५ टिम सहभागी प्रतियोगिताको लिग चरणका २ खेल मात्र बाँकी रहँदा नेपाल पुलिस क्लब ४ खेलमा ३ जित निकाल्दै फाइनल पुगेको छ भने फाइनल पुग्ने अर्को एक टिमका लागि चार टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, बागमति प्रदेश र काठमाडौं मेयर्स ११ बीच प्रतिस्पर्धा हुने भएको छ।

मेयर्स ११ विरुद्ध जित निकालेसँगै पुलिस क्लब मेयर्स कपको फाइनलमा प्रवेश गरेको छ। लिग चरणका चार खेलमा ३ जित निकालेको पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ। उसले पहिलो खेलमा बागमति प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पुलिसले आर्मीमाथि ३ विकेटको जित निकालेको थियो।

६ अंकसहित पुलिस शीर्ष स्थानमा छ भने ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ । आर्मी, बागमति र मेयर्स ११ समान २ अंक जोड्दै क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। एपिएफको रनरेट –०.१२४, आर्मीको –०.२१, बागमतिको –०.५ छ भने मेयर्स ११को रनरेट –०.७७५ छ।

लिगका अन्तिम दुई खेलमा बिहीबार त्रिभुवन आर्मी क्लब र बागमति प्रदेश कीर्तिपुरस्थित टियू मैदानमा हुने छ भने अर्को खेल मुलपानी क्रिकेट मैदानमा एपिएफ र मेयर्स ११ बीच हुनेछ। यी चार टिममध्ये फाइलन पुग्ने सम्भावना एपिएफको बलियो छ । अंक र रनरेटमा पनि माथि रहेको उसको सम्भावना बढी छ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपिएफ विजयी भए वा खेल बाराबरीमा सकिए अन्य तीन टिम लिग चरणबाटै सकिने छ। यदि एपिएफ पराजित भएमा मेयर्स ११ सँगै आर्मी र बागमतिका फाइनल पुग्ने सम्भावना हुन्छ । एपिएफ पराजित भएको अवस्थामा फाइनल पुग्ने दोस्रो टिमको टुंगो रनरेटका आधारमा हुनेछ ।

एपिएफलाई ठूलो अन्तरमा पराजित गर्न सके मेयर्स ११ फाइलन पुग्ने छ। तर, मेयर्स ११ रनरेटमा निकै पछि रहेकाले त्यो सम्भावना निकै कम छ। 

टियू मैदानमा हुने आर्मी र बागमति बीचको खेलमा जो विजयी भए पनि उनीहरुले फाइनल पुग्न एपिएफ र मेयर्स ११ बीचको खेलमा एपिएफको हारको कामना गर्नुपर्ने छ। एपिएफ पराजित भएको अवस्थामा आर्मी रनरेटमा माथि रहेकाले सामान्य जितले पनि फाइनल पुग्ने छ, तर बागमतिलाई ठूलो अन्तरको जित आवश्यक छ। यदि बागमतिले झिनो अन्तरको जित निकालेको पराजित हुँदा पनि फाइलन पुग्न सक्ने छ।

प्रकाशित मिति: ०८:०६ बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्