Kathmandu Press

मेयर्स कप क्रिकेट : मेयर्स ११ को दोस्रो हार, तेस्रो जितसँगै पुलिस फाइनलमा

काठमाडौं, फागुन २६ : काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेसर्य ११ ले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको...
मेयर्स कप क्रिकेट : मेयर्स ११ को दोस्रो हार, तेस्रो जितसँगै पुलिस फाइनलमा

काठमाडौं, फागुन २६ : काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेसर्य ११ ले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा खराब ब्याटिङ गरेपछि मेयर्स ११ नेपाल पुलिस क्लबसँग १०३ रनको फराकिलो अन्तरले पराजित भयो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १९८ रनको लक्ष्य पछ्याएको मेयर्स ११ ३२.२ ओभरमा ९४ रनमै अलआउट भयो। मेयर्स ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए भने कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

मेयर्स ११लाई सस्तैमा समेट्ने क्रममा पुलिसका पवन सर्राफले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ६।२ ओभरमा १६ रन खर्चिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३ र ललितनरायण राजवंशीले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ४७.४ ओभरमा अलआउट हुनुअघि १९७ रन बनायो। उसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए भने कुशल भुर्तेलले ३४, पवनले २८, दीपेन्द्रले २४ र सुनिल धमलाले २२ रनको योगदान दिए।

मेयर्स ११का विपिन खत्री, हरिशंकर साह र सन्दीपले समान ३ विकेट लिए।

जिसँगै पुलिस फाइनलमा, मेयर्स ११को झिनो आशा

मेयर्स ११विरुद्ध जित निकालेसँगै पुलिस क्लब मेयर्स कपको फाइनलमा प्रवेश गरेको छ। लिग चरणका चार खेलमा ३ जित निकालेको पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ।

उसले पहिलो खेलमा बागमति प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पुलिसले आर्मीमाथि ३ विकेटको जित निकालेको थियो।

यता, दोस्रो हारसँगै मेयर्स ११को फाइनल पुग्ने झिनो आशा मात्र बाँकी छ। आशा जिवितै राख्न उसले अन्तिम खेलमा एपिएफलाई फराकिलो अन्तरले हराउनुपर्नेछ र आर्मी–बागमतिबीचको नतिजा कुर्नुपर्नेछ। आर्मी र बागमतिबीचको खेलमा बागमती झिनो अन्तर विजयी वा बराबरी हुनुपर्नेछ।

अब लिग चरणका दुई खेल मात्र बाँकी छ। ६ अंकसहित पुलिस शीर्ष स्थानमा छ भने ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ । आर्मी, बागमती र मेयर्स ११ समान २ अंक जोड्दै क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्