Kathmandu Press

जसपाले ओली सरकारलाई कुनै हालतमा समर्थन गर्दैनः उपेन्द्र यादव

हाम्रो पार्टीले यो असंवैधानिक, प्रतिगमनकारी कार्य गरेको सरकार हो भनेर स्पष्‍ट भनेको छ। हामी यो सरकारको कदमविरुद्ध आन्दोलनमै उत्रिएका हौँ। त्यसैले यो सरकारलाई समर्थन गर्ने कुरै आउँदैन।
जसपाले ओली सरकारलाई कुनै हालतमा समर्थन गर्दैनः उपेन्द्र यादव

३४ सांसदसहित संघीय संसद्‍मा चौथो ठूलो दल हो, जनता समाजवादी पार्टी (जसपा)। नयाँ सत्ता समीकरणको बहस चुलिँदै गर्दा जसपा त्यसका लागि ‘की फ्याक्टर’ बनेको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन। तर, कांग्रेस र जसपासँग मिलेर नयाँ सरकार गठनको वातावरण तयार पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्ड लागिपरेका छन्। एमाले र माओवादी केन्द्रबीच एकतापछि गठित नेकपाको दर्ता सर्वोच्च अदालतले खारेज गरेपछि उत्पन्‍न राजनीतिक जटिलता र सम्भावनामा केन्द्रित रहेर जसपा अध्यक्ष उपेन्द्र यादवसँग काठमाडौं प्रेसले गरेको संवाद :


सर्वोच्च अदालतले सत्तारुढ नेकपाको दर्ता खारेज गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। अब मुलुकको राजनीति कुन दिशामा मोडिएलाजस्तो लाग्छ तपाईंलाई?

देशको राजनीति अनिश्चितता, अस्थिरता र अन्योलतर्फ डोरिएको म देख्छु। राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको समृद्धि धेरै पछाडि पर्ने सम्भावना देखिन्छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकार अल्पमतमा पर्नेछ। कसरी नयाँ सत्ता समीकरण बन्‍ने देख्‍नुभएको छ?

सम्भावनाहरू अनेक छन्। ती सम्भावनामा कसले संख्या जुटाउन सक्छ, सरकार उसैले बनाउँछ।

नयाँ सत्ता समीकरण तपाईंहरूको पार्टीको भूमिका के हुन्छ?

हाम्रो पार्टी एउटा मुद्दा, एउटा मिसन बोकेर आएको हो। मधेश, आदिवासी जनजाति, आर्थिक, शासकीय स्वरूप, निर्वाचनका प्रणालीलगायत राष्‍ट्रिय मुद्दाहरू बोकेको पार्टी हो, जसपा। ती मुद्दासँग कहाँ मेल खान्छ, त्यहाँ हाम्रो सहकार्य हुनु स्वाभाविक हुन्छ।

तर, तत्कालका लागि हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि लोकतन्त्र र संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य हुनुपर्छ भन्‍ने मान्यता राख्छौँ।

जसपाका नेताहरूले बालुवाटार पुगेर वर्तमान सरकारलाई नै मौखिक समर्थन गरेर आइसके भन्‍ने छ नि?

त्यो गलत कुरा हो। हाम्रो पार्टीले यो असंवैधानिक, प्रतिगमनकारी कार्य गरेको सरकार हो भनेर स्पष्‍ट भनेको छ। हामी यो सरकारको कदमविरुद्ध आन्दोलनमै उत्रिएका हौँ। त्यसैले यो सरकारलाई समर्थन गर्ने कुरै आउँदैन।

तपाईंकै पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले वर्तमान सरकालाई मौखिम समर्थन दिइसक्नुभयो भन्‍ने बाहिर आएको छ नि त?

त्यो प्रचारबाजी गरिएको कुरा मात्र हो। त्यस्तो कुरा पार्टीभित्र कहीँ आएको छैन। हिजो पनि महन्थजीले पार्टीको बैठकमा सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने मात्रका लागि कुराकानी भएको र अरू केही कुरा भएको छैन भनेर जानकारी दिनुभएको छ।

जसपा अहिलेको सरकारको बहिर्गमन चाहन्छ। अहिलेको सरकारलाई हटाएर लोकतन्त्रको रक्षा र प्रतिगमनबाट देशलाई जोगाउनका लागि लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरू मिलेर नयाँ सरकार बनोस् भन्‍ने हामी चाहन्छौँ।

त्यसको अर्थ कांग्रेस, माओवादी र जसपाको गठबन्धनबाट सरकार बनाउने चाहना हो?

लोकतान्त्रिक शक्तिहरू अगाडि आए भने जसपाले विचार गर्छ।

सत्ता समीकरणलाई लिएर जसपाभित्र विवाद छ भन्‍ने सतहमा आइरहेको छ नि?

पार्टीभित्र कुनै विवाद छैन। पार्टीभित्र विवाद छैन, अनलाइन न्युज पोर्टल र विभिन्‍न सञ्‍चार माध्यममा आएका कुरा मात्र हुन् ती। पार्टीभित्र कुनै देखिने विवाद छैन।

त्यसको अर्थ जसपा एकजुट छ, फुटमा जाने सम्भावना छैन भन्‍ने हो?

पार्टी एकजुट छ, फुटमा जाने कुनै सम्भावना देखिँदैन त अहिलेसम्म त। जो फुटेर जान्छ, ऊ समाप्त हुन्छ राजनीतिमा। विगतमा पनि त्यस्तै भएको थियो, अहिले पनि त्यस्तै हुन्छ। आफ्नो राजनीति समाप्त पारेर केपी ओलीको प्रतिगमनलाई सघाउन को तयार हुन्छ? नैतिकवान, चरित्रवान नेताहरू त्यसका लागि तयार हुँदैनन्।

एकप्रकारको द्विविधा अझै पनि कायमै छ नि? माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। यसलाई कसरी हेर्नुहुन्छ?

त्यो उहाँहरूको पार्टीगत स्वतन्त्रताको कुरा हो। त्यस विषयमा हामीले बोल्ने कुरा भएन। आ-आफ्ना गतिविधि गर्न हरेक पार्टी स्वतन्त्र छन्।

तपाईंहरूलाई नयाँ सरकार गठनका सन्दर्भमा ‘अफर’हरू त आएकै होलान् नि त?

अहिलेसम्म पार्टीगत र संस्थागत हिसाबबाट कुनै प्रस्ताव आएका छैनन्। कतैबाट कुनै राजनीतिक रूपले प्रस्ताव आएकै छैन। कसैलाई बाटामा भेटेर कसैले कानमा मन्त्र हालिदियो भने बेग्लै कुरा हो। नत्र राजनीतिक रूपले र पार्टीगत हिसाबबाट कुनै प्रस्ताव आएको छैन। अन्य दलका नेतासँग फाट्टफुट्ट भेटघाट मात्र भएका छन्। नयाँ समीकरणका सन्दर्भमा कुनै गम्भीर छलफल भएको छैन।
 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्