Kathmandu Press

के हो पोस्ट कोभिड समस्या ?

मानसिकदेखि शरीरका विभिन्‍न अंगमा पोस्ट कोभिड समस्या देखिन सक्छ। कोरोना संक्रमण भई निको भएपछि पनि पोस्ट कोभिड भने महिनौँसम्म रहन सक्ने सम्भावना हुन्छ।
के हो पोस्ट कोभिड समस्या ?

कोरोना भाइरस संक्रमणको अवस्थाअनुसार उपचार गरिन्छ। र, अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। तर, त्यसपछि पनि स्वास्थ्यमा निरन्तर विभिन्‍न समस्या आउनुलाई पोस्ट कोभिड भनिन्छ। मानसिकदेखि शरीरका विभिन्‍न अंगमा यस्तो समस्या देखिन सक्छ। कोरोना संक्रमण भई निको भएपछि पनि पोस्ट कोभिड भने महिनौँसम्म रहन सक्ने सम्भावना हुन्छ।

लक्षणविहीन संक्रमितमा उपचारपछि स्वास्थ्य समस्या

कोरोना संक्रमित धेरै मानिस लक्षणविहीन थिए। लक्षणविहीन संक्रमितहरू संक्रमण निको पार्न अस्पताल जानु परेन। तर, अहिले त्यस्ता संक्रमित पनि विभिन्‍न स्वास्थ्य समस्या लिएर अस्पताल आइरहेका छन्।

Hardik ivf

मैले जाँचिरहेका एक बिरामी तिनैमध्येकी हुन्। कोरोनाको उपचार गरेको पाँच सातापछि छाती दुखेको र श्‍वासप्रश्‍वासमा समस्या आएको भन्दै अस्पताल आएकी थिइन्। यो एउटा उदाहरण मात्र हो। यस्ता केस अहिले धेरै आउन थालेका छन्। अमेरिका र बेलायततिर पोस्ट कोभिडको विषय बढी चर्चामा छ। नेपालमा भने यो विषय अध्ययन-अनुसन्धानकै क्रममा छ।

लङ कोभिडको समस्या

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पनि अहिले धेरै थकान महसुस हुने, मुटु र छाती दुख्‍ने, श्‍वासप्रश्‍वासमा समस्यालगायत स्वास्थ्य जटिलता लिएर आउने बिरामी बढेका छन्। उनीहरूमध्ये अधिकांशमा यसअघि कोरोना संक्रमण भएको थियो। यसको मतलब आइसोलेसनमा बसेका र कडा लक्षण नदेखिएकाहरूलाई पोस्ट कोभिड नहुने भन्‍ने हुँदैन। तर, अधिकांश कोरोनाको लक्षण भएर वा नभएर संक्रमित भएकाहरूमै पोस्ट कोभिड देखिएको छ।

लामो समय अस्पताल बसेर कोरोना संक्रमणमुक्त भएकाहरूमा अहिले अझ बढी स्वास्थ्य समस्या देखिएको छ। तर, पहिलो लकडाउनभन्दा अगाडि लक्षण नभएका बिरामीमध्ये पोस्ट कोभिडका कारण अस्पताल आउनेको संख्या कम छ।

तर, त्यसपछि कोरोनाका लक्षणहरू देखिएर अस्पताल भर्ना भएका र होम आइसोलेसनमा बसेका बिरामीमा पोस्ट कोभिडको प्रभाव बढी देखिएको छ। कतिपय मानिसलाई ‘लङ कोभिड’ अर्थात् लामो समय विभिन्‍न स्वास्थ्य समस्या भएर चिकित्सकसँग परामर्श लिन आइरहेको देखिन्छ।

यसरी पहिचान गरौँ पोस्ट कोभिड

पोस्ट कोभिडको पहिचानका लागि कुनै पनि व्यक्तिको स्वास्थ्य इतिहास थाहा पाउन जरुरी हुन्छ। बिरामी पहिले कहाँ गएको थियो, के स्वास्थ्य समस्या थियो, कोरोना संक्रमित भएको थियो वा थिएनलगायत विषय जानकारी लिनुपर्छ।

यस्तै, पोस्ट कोभिडमा मुटु अनियमित धड्किने, कमजोरी महसुस हुने, छाती दुख्‍ने, अनावश्यक डर लाग्ने, श्‍वासप्रश्‍वासमा समस्या, अत्यधिक थकानलगायत समस्या देखिन्छन्। त्यसबाहेक मानसिक समस्या देखिनु पनि पोस्ट कोभिडको मुख्य लक्षण हो।

पोस्ट कोभिड सर्ने सम्भावना कम

मौसम परिवर्तनका क्रममा स्वास्थ्यमा समस्या आउनुमा प्रायः सरुवा रोगहरूको मुख्य भूमिका हुन्छ। पोस्ट कोभिडमा भने नसर्ने रोगहरूको जस्तो लक्षणहरू देखिन्छन्। सोहीकारण यो मौसमी सरुवा रोग हो वा होइन भन्‍ने पहिचान गर्न सजिलो छ।

अहिलेसम्मका केसहरू विश्लेषण गर्दा नसर्ने रोगको लक्षणहरू मात्र देखिएका बिरामी आइरहेका छन्। कोरोना संक्रमणका कारण भाइरसले शरीरका विभिन्‍न अंगलाई असर गरेको हुन्छ। त्यही समस्या बल्झिएर पोस्ट कोभिड देखिने हो। तर, यस्ता समस्या सर्ने सम्भावना निकै कम छ।

पोस्ट कोभिडका लागि छैन अलग्गै औषधि

पोस्ट कोभिडको उपचार यही नै हो भन्‍न सकिने अवस्था छैन। पोस्ट कोभिडकै लागि भनेर अहिलेसम्म औषधि पनि बनेका छैनन्। तर, जुन स्वास्थ्य समस्या आएको छ, त्यसैको उपचार गरी पोस्ट कोभिडबाट निको हुन सकिने सुझाव वैज्ञानिकहरूको छ।

जस्तो- कसैलाई छाती दुखेको छ भने त्यससम्बन्धी औषधि लिने, मानसिक रोग देखिएमा सोहीसम्बन्धी परामर्श र औषधि सेवन गर्ने। यस्तै, आफ्नो काममा केन्द्रित हुने, शरीरलाई चलायमान बनाउने, योग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरलाई फुर्तिलो बनाउने गर्नुपर्छ। यसरी स्वास्थ्य समस्या बढ्दै गएको खण्डमा आवश्यकताअनुसार सम्बन्धित विशेषज्ञहरूसँग परामर्श लिनुपर्छ।

(सरुवा रोग विशेषज्ञ डा. पुनसँग गरिएको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्