Kathmandu Press

सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने : राष्ट्रपति

सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने : राष्ट्रपति

काठमाडौं, फागुन २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छिन् ।

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी हुन् । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी हुन् ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको  उल्लेख गरेकी छिन् । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।  

दिवसकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

उनले नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । उनको शुभकामना सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ ।

संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।” 

प्रकाशित मिति: ०८:३० बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्