सर्वोच्चको फैसला साढे दुई घन्टाभित्रै पुग्यो आयोगमा
काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले नेकपासम्बन्धी गरेको फैसला साढे दुई घन्टाभित्रै निर्वाचन आयोगमा पुगेको छ।विर्नाचन आयोगले आइतबार कार्यालय समयमै फैसला पुगेको जनाएको...
काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले नेकपासम्बन्धी गरेको फैसला साढे दुई घन्टाभित्रै निर्वाचन आयोगमा पुगेको छ।
विर्नाचन आयोगले आइतबार कार्यालय समयमै फैसला पुगेको जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज प्राप्त भएको बताए।
सर्वोच्च अदालत आज दिउसो साढे २ बजेपछि फैसला सुनाएको थियो। प्रायः एक हप्तासम्म पनि नपुग्ने फैसला आज भने साढे दुई घन्टाभित्रै पुगेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ।'
सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेललाई दिएको छ भने नेकपाको एकीकरण पनि बदर गरेको छ। अब नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्केका छन्।
एमाले र माओवादी केन्द्रबीच दुई वर्ष अघि एकीकरण भएको थियो। अब दुवै पार्टी छुट्टिएका छन्। यदि एकीकरण गर्न चाहेमा फेरि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ।











-1790853075.png)