Kathmandu Press

सर्वोच्चको फैसलापछि अप्ठ्यारोमा नेकपाका दुवै पक्ष

ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले आधिकारिक हुने फैसला दिएपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाका दुवै समूह अन्योलमा परेका छन्।
सर्वोच्चको फैसलापछि अप्ठ्यारोमा नेकपाका दुवै पक्ष

काठमाडौं, फागुन २३ : ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले आधिकारिक हुने फैसला दिएपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाका दुवै समूह अन्योलमा परेका छन्।

प्रतिनिधिसभा भवनबाहिर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी ओलीले भने, ‘हामी अदालतको फैसलालाई मान्छौँ र त्यसलाई सम्मान गर्छौँ।’ त्यसबाहेक उनले कुनै टिप्पणी गरेनन्।

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्।

प्रचण्ड-नेपाल समूहका नेता डा. विजय पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइसकेपछि नियुक्त भएका राष्ट्रियसभा सदस्यहरू यसबाट बढी समस्यामा परेको बताउँछन्। ४८ जना राष्ट्रियसभा सदस्य अब कुन दलमा लाग्ने भन्ने समस्या उत्पन्न हुने डा. पौडेलको भनाइ छ।

यसबीचमा दर्ता भएका सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र भने स्वतः खारेज हुने अवस्थामा पुगेका छन्। कारण- यसअघि सोही नाममा दर्ता भएको दल नै आधिकारिक हुने सर्वोच्चको फैसला छ।

ओली समूहका नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने अदालतको फैसलाबाट नयाँ ढंगबाट पार्टी एकताको वातावरण तयार भएको बताउँछन्। ‘फैसलाले हामीलाई एकीकरणपूर्वको  अवस्थामा पुर्‍यायो, ३ जेठ ०७५ भन्दा अघिको अवस्थामा,’ मन्त्री ज्ञवाली भन्छन्, ‘यसले एकतालाई नयाँ वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा एकतामा अगाडि बढ्ने ढोका  खोलिदिएको छ, हाम्रो प्रयास त्यही हुनेछ। जुन आधारमा हामी अगाडि बढ्न खोज्यौँ, त्यसले हामीलाई गन्तव्यमा पुर्‍याएन। एकता नटुंगिँदै द्वन्द्व फैलियो। अब वास्तविक धरातलमा उभिएर एकता गर्ने वातावरण तयार भएको छ।’
 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्