नेकपा दुवै समूहका सांसद एकै लहरमा बस्ने
काठमाडौं, फागुन २३ : आज (आइतबार) अपराह्न ४ बजे प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। आजकाे अधिवेशनमा विभाजित नेकपाका ओली समूह र प्रचण्ड-नेपाल समूहका सांसदलाई एउटै लहरमा...
काठमाडौं, फागुन २३ : आज (आइतबार) अपराह्न ४ बजे प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। आजकाे अधिवेशनमा विभाजित नेकपाका ओली समूह र प्रचण्ड-नेपाल समूहका सांसदलाई एउटै लहरमा राखिने भएकाे छ।
प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह र प्रचण्ड-नेपाल समूहमा विभाजित छ।
फागुन ११ गते सर्वोच्च अदालतले विघटनको सिफारिसलाई बदर गरेपछि १३ दिनभित्र बैठक बोलाउनेगरी प्रतिनिधसभा पुनःस्थापना भएकाे थियोे।
कानुनको नजरमा एउटै पार्टी ठहरिने नेकपाका सांसदहरू आज सुरु हुने बैठकमा को कहाँ कसरी बस्लान् भनेर आम चासोको विषय बनिरहेका थियो । कुन समूहका सांसदलाई कहाँ कसरी बस्ने व्यवस्थापन गर्ने भनेर संसद् सचिवालय स्वयम् अन्योलमा थियो।
सांसद सचिवालयले दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेको भन्दै नेकपा दुवै समूहका सांसदहरूलाई सत्तारुढ दलका सांसद बस्ने लहरमा बस्ने व्यवस्था मिलाएको जनाएकाे छ।
आज पत्रकार सम्मेलनकाे आयाेजना गरेर संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपाका दुई समूहबारे छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र नआइसकेकाले एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
पाण्डेले सत्तारूढ दलका सबै सांसदलाई एकैपट्टि चारवटा ‘कोलम’ छुट्याइएको बताए। नेकपामा विभाजित परिस्थिति आउनुभन्दा अघिका बैठकमा पनि यसरी नै सत्तारूढ दलका सांसदहरूलाई राख्ने गरिएको थियो।











-1790853075.png)