सम्बन्ध–विच्छेद र दोस्रो विवाह कसरी हुन्छ ?
'सम्बन्ध–विच्छेदलाई बुझ्न स्वाभाविक सम्बन्ध–विच्छेद, पुरुषको अन्यायले निम्त्याएको सम्बन्ध–विच्छेद र पितृसत्तात्मक संरचना, सामाजिक विघटन लगायतले निम्त्याएको सम्बन्ध–विच्छेदलाई विश्लेषण गर्नुपर्छ ।'
काठमाडौं, फागुन २२ : चितवनकी राधा (नाम परिवर्तन)ले ९ कक्षा पढ्दापढ्दै भागेर विवाह गरेकी थिइन् । विवाह गरेको केही वर्षमै उनलाई आफ्नो निर्णयप्रति पछुतो हुन थाल्यो, अन्ततः उनले सम्बन्धविच्छेद गरिन् ।
जतिबेला उनले भागेर बिहे गरेकी थिइन्, त्यतिबेला उनलाई माया–प्रेम, सम्बन्ध र विवाहबारे केही थाहै थिएन । कक्षा ८ मा पढ्दै गर्दा एउटै विद्यालयमा पढ्ने केटासँग उनको बोलचाल हुन्थ्यो । ‘स्कुल जाँदा–आउँदा ऊ बाटोमा कुरेर बस्थ्यो । उमेरको खेल त होला, उसका मायालु कुरामा म मख्ख पर्न थालेँ,’ नाम बताउन नचाहने उनी भन्छिन्, ‘विवाह गरौँ, तिमीबिना म बाँच्नै सक्दिनँ भनेपछि केही सोच्न सकिनँ ।’
विवाहको ६ महिनासम्म सम्बन्ध राम्रै चल्यो । त्यसपछि श्रीमानसँग आफ्नो सोच, भावना, उमेर केही नमिलेको आभास उनलाई हुन थाल्यो । सानातिना झगडा र मनमुटावले उनी नरोएको दिनै हुँदैनथ्यो । विवाहको दुई वर्षपछि आमासँग कुरा गरेर उनी माइतीमा गएर बसिन्, जतिबेला उनी गर्भवती थिइन् ।
माइती फर्केर ९ कक्षादेखि छुटेको आफ्नो पढाइलाई निरन्तरता दिन थालिन् । छोरालाई जन्म दिई उसको हेरचाह गर्दै जसोतसो एसएलसी गरेर ११ कक्षामा पढ्दै थिइन्, उनलाई लिन श्रीमान आए, केही मान्छेहरू लिएर । दुवै पक्षका बसेर कुरा भयो । आफूले पढाइलाई निरन्तरता दिन पाउने सर्तमा उनी पुनः श्रीमानको घरमा गइन्, दुई वर्षको छोरो च्यापेर । घरमा आएको महिना दिन हुँदासम्म उनलाई पढाउने सुरसार परिवारले गरेन । एक दिन उनले श्रीमानलाई सोधिन्, ‘अब त कलेज भर्ना हुनुपर्ने ?’
श्रीमानले आलटालको शैलीमा भने, ‘गरौँला नि, अहिले पैसाको समस्या छ ।’
त्यसपछि उनले सासुआमा एक्लै भएका बेला कलेज पढ्नेबारे कुरा गरिन् । सासुआमाले भनिन्, ‘घरका सबै काममा जान्छन्, तेरो बालखा कसले रुंगेर बस्छ ? अब पुग्यो त, कति पढ्छेस् ? यत्रो पढेर पनि घर गरी खान सिकाउने रहेनछन् ।’
उनले कुरा बुझिहालिन्, परिवारले पढाउन चाहेको छैन भनेर । पढ्न नपाएको कुरा उनले माइतीमा पनि सुनाइन् । माइतीले भने, ‘ठीकै छ अब, नपढ् न त, बाबुलाई हुर्काउनुपर्छ ।’
त्यसपछि उनले श्रीमानलाई निर्णय सुनाइन्, ‘अब म आफैँ कमाएर पढ्छु ।’ उनको निर्णयपछि श्रीमानको व्यवहार बदलियो । हरेक दिन जाँड खाएर कुटपिट गर्न थाले । ‘छोरो मेरो होइन, कसको हो ?’ भनेर दुव्र्यवहार गर्न थाले ।
अब भने उनले घर छाड्ने निर्णय गरिन् र पहिले जागिर खोजिन्, बल्लबल्ल पाँच हजार रुपैयाँको जागिर पाइन्, पसल कुर्ने । एक हजार रुपैयाँमा कोठाभाडामा पनि पाइन् ।
आमासँग पुराना भाँडाकुँडा, ओढ्ने–ओछ्याउने र १५ सय रुपैयाँ लिएर उनी घरदेखि पर बजारमा बस्न थालिन् । छोरो हुर्काउन, पढाउन लागेपछि उनले स्नातक गर्न सकिनन् । तर, योबीचमा उनको भेट कुनै पुरुषसँग भयो । छोराले ८ कक्षामा पढ्दै गर्दा उनले दोस्रो बिहे गरिन् । दोस्रो विवाहपछि उनले एउटी छोरीलाई जन्म दिएकी छन्, छोरालाई पनि आफूसँगै राखेकी छन्, छोराले १२ पास गरे । अहिले उनीहरूको जीवन सुन्दर छ । ३५ वर्षीया उनी भन्छिन्, ‘हामी दुवैले काठमाडौंंमा व्यापार गरेर बस्छौँ । श्रीमानले मेरो उताको छोरालाई स्वीकार गर्नुभएको छ । अहिले हाम्रो सम्बन्ध समझदारीमा चलेको छ । सबै राम्रो छ ।’
०००
निर्मला महर्जन ‘बडी बिल्डर’ हुन् । उनी अहिले ‘इटरनिटी फिटनेस’मा ट्रेनर छिन् । पहिलो विवाह गर्दा उनी १६ वर्षकी थिइन् भने उनका श्रीमान् उनीभन्दा पाका उमेरका । उमेरको तालमेल नमिल्नु, कामको सन्दर्भमा अरुसँग कुरा गर्दा शंका गर्नु जस्ता कारण आजित भएर विवाहको १० वर्षपछि उनले सम्बन्ध–विच्छेद गरिन् । त्यसपछि आफूले चाहेजस्तो मान्छे भेटेको महसुस भएपछि उनले दोस्रो विवाह पनि गरिन् । पहिलो विवाहबाट उनका एउटा छोरा छन्, छोरा र आफन्तको सल्लाहमा दोस्रो विवाह गर्ने निर्णय लिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामी (श्रीमान–श्रीमती) दुवै जिम ट्रेनर हौँ । म बलिबिल्डरको विभिन्न प्रतिस्पर्धामा भाग लिन देशविदेश जान्छु, श्रीमानको साथ र सहयोगले जीवनको नयाँ सुरुवात उत्साहमय छ ।’
यहाँ राधा र निर्मलाको दोस्रो विवाहसम्मको कथालाई नियाल्दा देखिन्छ– परिपक्व उमेर नभई विवाह गर्दा, एकअर्कालाई राम्रोसँग नबुझी विवाह गर्दा, एक–अर्काको विचार–भावना र चाहनालाई कदर गरी समझदारीमा आउन नसक्दा लगायत कारण विवाह सम्बन्ध–विच्छेदमा पुगेको छ । त्यस्तै, आफूले चाहेजस्तै साथी भेटेपछि दोस्रो विवाह भएको छ ।
किन हुन्छ सम्बन्ध–विच्छेद ?
लेखक तथा विश्लेषक आहुतिका अनुसार, जसरी विवाह हुन भावनात्मक रुपमा नजिक हुनुपर्छ, त्यसरी नै सम्बन्ध–विच्छेद हुन भावनात्मक रुपमा मतभेद हुनुपर्छ । उनका अनुसार, सम्बन्ध–विच्छेदलाई बुझ्न स्वाभाविक सम्बन्ध–विच्छेद, पुरुषको अन्यायले निम्त्याएको सम्बन्ध–विच्छेद र पितृसत्तात्मक संरचना, सामाजिक विघटन लगायतले निम्त्याएको सम्बन्ध–विच्छेदलाई विश्लेषण गर्नुपर्छ ।
भौतिक, आर्थिक कुराहरूमा संघर्ष गर्न मिले पनि भावनात्मक न्यायका निम्ति संघर्ष गर्न नसकिने उनी बताउँछन् । कोही कसैसँग सँगै बसेर प्रगति गर्न नसक्ने, मानसिक रुपमा तनाव मात्र हुने अवस्था आए सम्बन्धविच्छेद हुनु स्वाभाविक हुन्छ । उनी भन्छन्, ‘विवाहअघि जोडीले शारीरिक, भावनात्मक, वैचारिक रुपमा जे चाहना राखेका हुन्थे, स्वाभाविक रुपमा राखेका आशाहरू कतै न कतैबाट पूरा नहुन थालेपछि स्वाभाविक रूपमा एउटा पक्षबाट वितृष्णा सुरु हुन्छ र सम्बन्ध सन्तुलित र स्वस्थ्य नहुँदा सम्बन्ध टुट्छ ।’
त्यस्तै, पुरुषका अन्यायमा आधारित सम्बन्ध–विच्छेद, जसमा सानै उमेरमा विवाह हुने, महिलालाई पुरुष सहर छुट नहुँदा पुरुष सामाजिक प्रगति र हैसियतको एउटा ठाउँमा पुग्ने र महिला घर व्यवहार, बालबच्चा सम्हाल्ने जिम्मेवारीमै रुमलिने अवस्था हुन्छ । त्यस्तै, पुरुषले मेरो जोडा मिलेन भन्ने अहं राख्दा पनि सम्बन्ध–विच्छेद हुने अवस्था आउँछ । महिलाको गिर्दै गएको अवस्था र पुरुषको प्रगति हुँदै गएको सामाजिक हैसियतबीचको अन्तर्विरोधले पनि सम्बन्ध–विच्छेदको अवस्था सिर्जना गर्ने उनी बताउँछन् ।
पितृसत्तात्मक समाजमा पुरुषको वैचारिकीका कारण पनि सम्बन्ध–विच्छेद हुने उनको बुझाइ छ । ‘महिलालाई उपभोग्य वस्तु, मनोरञ्जनको साधन ठान्ने संरचनामा पुरुष हुर्किन्छ,’ उनी भन्छन्, ‘जुन बेलासम्म कुनै पुरुषले मनोरञ्जन पाएजस्तो ठान्छ, त्यो बेलासम्म रम्ने भो, नभए मनोरञ्जनका निम्ति भौँतारिने भो, यसरी पुरुषमा एउटा रोग देखा पर्छ । श्रीमती होस् या पे्रमिका, भोग्ने कोणमा हेरेपछि अनिवार्य रुपमा महिलालाई धोका दिने र नयाँ सम्बन्ध बनाउनाले सम्बन्ध–विच्छेद हुन सक्छ ।’
पुरुषले लाद्ने सम्बन्ध–विच्छेदको परिघटनामा अन्तर्जातीय विवाह पनि पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘प्रेम र आकर्र्षण भावनाको उडानमा हुन्छन्, जति बेला विद्रोहको मानसिकता रहन्छ तर पछि सामाजिक, आर्थिक, प्रगतिको रोकावट विवाह बन्छ, तब सम्बन्ध टुट्छ ।’
त्यस्तै, महिलालाई सम्बन्ध–विच्छेद गर्ने उत्प्रेणा आर्थिक हैसियतले पनि दिन्छ । महिला स्वयं आर्थिक सम्पन्न हुने, माइती बलिया हुने, स्वावलम्बी हुने लगायत कारण सक्षम महिलाले सम्बन्ध–विच्छेद गर्ने आँट गर्छन् । अधिकांश पुरुष विदेश हुने र महिलाको नयाँ प्रेम विकसित हुनाले पनि सम्बन्ध–विच्छेद हुने उनी बताउँछन् । ‘यो प्रकरणलाई कसरी हेर्ने, धेरै मान्छेका अनुसार परिवार बिग्रेको, महिलाले बिगारेको भनेर चर्चा गरे पनि विदेशमा बसेको पुरुषले के गरिराछ कसलाई थाहा छ ?’ उनी भन्छन्, ‘पुरुषलाई कसैले प्रश्न नगर्ने परिपाटी पितृसत्ताको संरचनामा छ ।’
विद्रोह बाहिर प्रकट हुनुभन्दा पहिले सामाजिक जीवनमा पाश्र्व विद्रोह भइरहेको उनी बताउँछन् । ‘त्यो दिनसम्म त्यो महिलालाई हामीले कथित अनैतिक भन्न सक्दैनौँ, जुन बेलासम्म उसको पुरुष नैतिकवान छ भन्ने ग्यारेन्टी हुँदैन,’ आहुति भन्छन्, ‘पुरुषको नैतिक पक्षलाई ग्यारेन्टी गर्ने नयाँ सिद्धान्त, नयाँ संरचना, नयाँ संस्कृतिसहितको नयाँ करार बन्दैन, त्यो बेलासम्म महिलालाई अनैतिक भन्न मिल्दैन ।’
दोस्रो विवाहपछि महिलालाई हेर्ने दृष्टिकोण
सासंद अञ्जना विशंखेले दोस्रो विवाह गरेकी छन् । पहिलो विवाहबाट एक सन्तानलाई जन्म दिएकी उनी सोच, विचार र भावनात्मक रूपमा आफूअनुकूल साथी भेटेपछि दोस्रो बिहे गरेको बताउँछिन् । उनी भन्छिन्, ‘यो मान्छे जीवनमा भएपछि एक अर्कालाई सहयोग हुनसक्छ, जीवनमा आउने उतारचढावको सामना गर्न सकिन्छ भन्ने महसुस भएपछि हामीले विवाह ग¥यौँ ।’
विवाहको सम्बन्धमा नेपाली समाज अहिले धेरै अगाडि बढिसकेको उनको अनुभव छ । आफू अनुकुल जीवनसाथी भेटिएको खण्डमा दोस्रो विवाह नराम्रो नरहेको उनी बताउँछिन् । ‘पार्टनरप्रति विश्वास र एकअर्काको क्षमतालाई स्विकार्न सक्नु नै सफल विवाह हो,’ उनी भन्छिन्, ‘प्रायः वैवाहिक सम्बन्ध टुट्नुको मुख्य कारण भनेकै अपरिपक्व उमेरमा लिइएको निर्णय हो । मेरो १६ वर्षमा मागीविवाह भयो, जतिबेला मलाई विवाहको आवश्यकता महसुस भएकै थिएन, त्यही कारण विवाहको नौ वर्षपछि सम्बन्ध–विच्छेद भयो ।’
जीवनमा जे चिज आवश्यक छैन, त्यो चिज जबर्जस्ती थोप¥यो भने कुनै पनि कुरा नमिल्ने उनले बताइन् ।
दोस्रो विवाह गरेकी महिलालाई हेर्ने समाजको नजर निकै फरक रहेको उनी बताउँछिन् । ‘मैले पनि दोस्रो विवाहका विषयमा धेरै कुरा सुन्नुप¥यो,’ उनी भन्छिन्, ‘यत्रो समय एकल बसेको मान्छे अहिले किन विवाह गरेको होला ? भन्ने प्रश्न धेरै आए । दोस्रो विवाह गरेर जीवन सहज रुपमा जिउन सकिन्छ, ठीक गर्नु भयो भनी हौसला दिनेहरू पनि भेटेँ ।’
संविधानसभा पूर्वसासंद रेणु चन्द दोस्रो विवाहपछि आफ्नो जीवन सहज भएको बताउँछिन् । अहिले उनको ६ महिनाको छोरो छ । पहिलो विवाहले निम्त्याएका तमाम असमझदारीपछि उनलाई विवाह गर्छु भन्ने लागेको थिएन । माओवादी सशस्त्र विद्रोहमा लागेकी उनलाई पार्टीका अग्रजले विवाहको प्रस्ताव ल्याए, ०६० सालमा उनले विवाह गरिन् । एक आपसमा चित्त बुझेरै एउटै पार्टीका इन्चार्जद्वय विवाह बन्धनमा बाँधिएका थिए । ०६३ मा छोरीको जन्मपछि उनलाई श्रीमानको प्रेम, रेखदेख आवश्यक भयो, तर बाहिर हिँड्नुपर्ने भएपछि दुईको भेट निकै कम हुन्थ्यो । छोरी जन्मिएको तीन महिनासम्म उनले श्रीमानको कुनै भूमिका नभएजस्तो महसुस गरिन् । उनले भने बच्चाका कारण राजनीति छाड्नुपर्नेजस्तो अवस्था आयो । उनी भन्छिन्, ‘घर–पारिवारको जिम्मेवारीमा अल्झिएर राजनीति छाड्ने कुरा भएन ।’ छोरीलाई माइतीमा आमाको जिम्मेवारीमा छाडेर उनी राजनीतिमा सक्रिय भएकी थिइन्।
संविधान घोषणा भएपछि देशमा केही सहज अवस्था आए पनि दुईबीचको सम्बन्धमा दरार उत्पन्न हुँदै गयो । उनीहरु दुवै जनाका कार्यकर्ता भेट्न आउँथे, दुवैको राजनीतिक अवस्था राम्रो थियो, तर दुईबीच आन्तरिक मनमुटाव बढ्दै गयो । कम्युनिस्ट विचारधाराको मान्छेको व्यवहार फरक पाएकाले उनको चित्त दुखाइ छ । ‘कोठामा मदिरा खाने, बाहिर एउटा रूप, भित्र अर्को भएकाले मेरो चित्त दुखाइ त्यसैमा थियो,’ उनले भनिन्, ‘एक दिन मैले महिला हिंसाका विषयमा रोस्टरमा बोल्नुपर्ने थियो, तर अघिल्लो दिन मलाई श्रीमानले रक्सी पिएर पिटेका थिए । म आफैँ वर्षौंदेखि मानसिक र यतिसम्म कि शारीरिक हिंसामा परेकी थिएँ, कसरी रोस्टरमा महिला हिंसाको विषयमा बोल्न सक्थेँ ? मैले बोले राजनीतिक भविष्यलाई सखाप पारिदिन्छे भन्ने जस्तो लागेर मलाई कुटेर उनले मनको कुण्ठा निकालेका थिए ।’
आफूमाथि भएको मानसिक र शारीरिक हिंसालाई सहेर बस्न नसक्ने ठानेपछि सम्बन्ध–विच्छेद गरेको उनले बताइन् । ‘कुनै महिलाले सम्बन्ध–विच्छेद गर्छु भनिन् भने उसको चरित्रमाथि अनेकथरी टीका–टिप्पणी गरिन्छ, मेरो हकमा पनि यो लागू भएको थियो,’ उनले भनिन् । आफ्नो चरित्रको बारेमा टिप्पणी गरेको समय आफूले ६० प्रतिशतले जितिसकेको अनुभव गरेको उनले बताइन् ।
सम्बन्ध–विच्छेद भएको पाँच वर्षपछि चिनजानको मान्छेसँग प्रेमको भावना जागेको उनी सम्झिन्छिन् । त्यसको दुई वर्षपछि रेणुले दोस्रो विवाह गरिन् ।
विवाह के हो ?
समाजशास्त्रमा विवाहलाई एउटा संस्थाको रूपमा बुझिन्छ । लेखक, विश्लेषक आहुतिका अनुसार, पछिल्लो समय विवाह एक पवित्र कार्य र संस्कृतिको रूपमा विकास भए पनि विवाहको उत्पत्ति निजी सम्पत्तिका कारण भएको हो । ‘पुरुषले जम्मा गरेको निजी सम्पत्ति आफ्नै सन्तावमा, पुस्तामा जाओस् भन्नाका निम्ति उसलाई स्थायी प्रकारको श्रीमती आवश्यक प¥यो,’ उनी भन्छन्, ‘निजी सम्पत्तिको विकास नहँुदासम्म मानिस यौनिक जीवनमा स्वतन्त्र थिए, कसको कुन सन्तान भनेर बाउ चिनिन जरुरी थिएन ।’ उनका अनुसार, स्वतन्त्र बसेका सोही कबिलाका महिलाहरू स्थायी श्रीमती हुन तयार नभएपछि पुरुषहरूले अर्को कबिला बस्तीका महिलालाई लुटेर ल्याएर श्रीमती बनाउँथे । यसरी विवाह संस्थाको सुरुवात भई क्रमशः यसलाई अनिवार्य बनाइएको उनी बताउँछन् ।
उनका अनुसार, विवाह संस्थाको सकारात्मक पक्ष पनि छ । विवाहले परिवार बन्छ, परिवारको अस्तित्वले समाज बन्छ । त्यो समाजले अलि बढी अनुशासनको माग गर्छ । यसरी अनुशाति समाज बनाउन विवाहको भूमिका देखिन्छ । विवाह अब रुचिको विषय भएको छ । इच्छाअनुसार मन भए गर्न सकिने भयो, नभए नगर्दा पनि भयो । पछिल्लो समय नयाँ पुस्तालाई आफ्नो साथी रोज्ने छुट केही हदसम्म खुकुलो भएको देख्न सकिन्छ ।
सांसद अञ्जना विसंखे मानिसको जीवनमा प्रेम, यौन र विवाहले महत्त्व राख्ने बताउँछिन् । ‘प्रेम एउटा भावना, आवेग र अनुरागसँग जोडिएको हुन्छ । दुई व्यक्तिबीचको विश्वास, भावनात्मक संयोजन र एक आपसमा स्वीकार्यता हुनु नै प्रेमको बिन्दुमा पुग्नु हो,’ उनी भन्छिन्, ‘जो–कोहीसँग यौन क्रियाकलापमा सरिक हुन सकिँदैन । यौन सम्बन्धसम्म सहकार्य गर्न सकिने लागेपछि विवाहसम्म पुगिन्छ । पछिल्लो समय विवाह नै गर्नुपर्ने मान्यता हट्दै छ । आफ्नो मन मिल्ने मान्छे भेटिएपछि आफ्नो आवश्यकता अनुसार विवाह गर्दा अथवा नगर्दा हुन्छ ।’
विवाह संस्थाले महिलाका लागि उति न्याय गर्ला जस्तो उनलाई लाग्दैन । लामो समयदेखि विश्व समाजले दुई व्यक्तिबीचको यौन क्रियाकलापलाई मान्यता दिनका लागि विवाहको संस्थाले निरन्तरता पाइरहेको उनी बताउँछिन् । सामन्तवादको वंश परम्परालाई मान्यता दिनका निम्ति पनि विवाह संस्थालाई सबैले स्विकारेको उनको बुझाइ छ ।