ज्येष्ठ नागरिकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं, फागुन २२ : दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।यसअघि ५५ वर्षभन्दा...
काठमाडौं, फागुन २२ : दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।
यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भने पनि अब ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मात्रै लगाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिए।
उनका अनुसार खोप उपलब्धताको आधारमा पहिले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिन लागेको हो। हिमाली जिल्लामा भने ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए।
दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हुँदै छ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ।
सरकारले भारतको सेरम इस्सिच्युट अफ इन्डियाबाट उत्पादन भएको ‘कोभिशिल्ड’ खोप २० लाख मात्रा खरिद गरेको छ। जसमा अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशस्थित कार्यालयका कर्मचारीलाई खोप लगाउन सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय मिलाउने छ।
संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, सार्वजनिक संस्थानका कर्मचारीलाई नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले पहिलो चरणमा खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमयसेविका, स्थानीय तहका कर्मचारी, प्रहरी र स्थानीय तहका कर्मचारीलाई पनि खोप उपलब्धताका आधारमा दोस्रो चरणमा खोप लगाइने व्यवस्था मिलाएको छ।
सरकारले पहिलो चरणमा चार लाख २९ हजार व्यक्तिलाई खोप लगाएको थियो।











-1790853075.png)