Kathmandu Press

ओली समूहका सांसदलाई आफ्नो समूहमा आउन प्रचण्डको आग्रह

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका सांसदहरूलाई आफ्नो समूहमा...
ओली समूहका सांसदलाई आफ्नो समूहमा आउन प्रचण्डको आग्रह
फाइल तस्बिर

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका सांसदहरूलाई आफ्नो समूहमा आउन आग्रह गरेका छन्।

शुक्रबार आफू पक्षीय समूहको संसदीय दलको बैठकपछि सम्बोधनका क्रममा उनले आफूहरूसँग स्पष्ट बहुमत रहेकाे दाबी गर्दै ओली पक्षीय सांसदहरूलाई एउटै समूहमा रहेर अगाडि बढ्न आग्रह गरेका हुन् ।

उनले आफूलाई विधिवत् रूपमा संसदीय दलको नेता चयन गरेकोमा खुसी प्रकट गर्दै बैठकमा सहभागी सांसदहरूलाई धन्यवाद पनि दिए। सम्बोधनका क्रममा उनले ओली समूहका केही सांसदले आफ्नो समूहमा आउने इच्छा व्यक्त गरिरहेको पनि दाबी गरे।

यसैबीच प्रतिनिधिसभा बैठकको पहिलो दिन नै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–समूह लागेको छ। शुक्रबारको बैठकमा केकसरी अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।

राजनीतिक रूपमा विभाजित नेकपा कानुनी रूपमा भने एउटै छ । यस्तो अवस्थामा संसद् बैठकमा एउटै पार्टीका दुई समूह, दुई संसदीय दल, दुई प्रमुख सचेतक भएर सहभागी हुँदा केही प्रक्रियागत समस्या सिर्जना हुने देखिएको छ।

बैठकमा सहभागी एक सांसदले १ सय ११ जना सांसदले बैठकमै उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए। विशेष कारणले सांसद योगेश भट्टराई, कृष्णबहादुर महरा, बिना पोखरेल र चक्रपाणि खनाल भने बैठकमा अनुपस्थित रहेको उनले जानकारी दिए।

हस्ताक्षरमा छुटेका चार जनासहित आफ्नो पक्षमा १ सय १५ सांसद रहेको दाबी ती नेताले गरे।  

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्