Kathmandu Press

यो सेफ ल्यान्डिङ होः प्रधानमन्त्री

‘यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो,’ प्रधानमन्त्रीले भने, ‘जनताका सपनाहरूलाई पूरा गर्ने सन्दर्भमा विप्लवले योगदान गर्नुभएको छ।’
यो सेफ ल्यान्डिङ होः प्रधानमन्त्री

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओलीले नेकपा (विप्लव समूह) शान्तिपूर्ण प्रक्रियामा आउनु सेफ ल्यान्डिङ भएको बताएका छन्।

‘यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो,’ उनले भने, ‘जनताका सपनाहरूलाई पूरा गर्ने सन्दर्भमा विप्लवले योगदान गर्नुभएको छ।’

यो रातारात भएको विकासक्रम नभएको उनले बताए। ‘वर्षौँदेखि वार्ता चलिरहेको थियो। हामीले नगरा बजाएर वार्ता गरेनौँ, गम्भीरतासाथ वार्ता गर्‍यौँ,’ उनले भने, ‘८-१० वर्षअघि विप्लव र म भेटेर गम्भीरतासाथ कुरा गरेका थियौँ। त्यतिबेलादेखि जग मतबुत भएर आएको थियो।’

नेकपा (विप्लव समूह)सँग सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवको कदमलाई साहसिक कदमको संज्ञा दिए।

‘देश र समाजले सम्पूर्ण शान्ति खोजेको छ,’ उनले भने, ‘जनताले चाहेको शान्ति र निर्भय वातावरणमा बाँच्न पाउने चाहना राखेका छन्। त्यो वातावरण प्राप्त गर्ने सन्दर्भमा ऐतिहासिक काम भएको छ आज, नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ।’

अब नेपालमा हिंसात्मक द्वन्द्व नभएको र हिंसात्मक द्वन्दको कार्यदिशा कसैले नलिएको उनले दाबी गरे। ‘केही दिनअघि मात्र शान्तिको प्यारामिटरमा नेपाल धेरै विकास गरेर अगाडि बढेको तथ्यांक आएको थियो। भरे बेलुका संयुक्त राष्ट्रसंघले मूल्यांकन गर्ने हो भने कसरी गर्ला ?’
 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्