खनालको अध्यक्षतामा बैठक, दलको नेतामा प्रचण्ड चयन
काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ।सिंहदरबारस्थित...
काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको शुक्रबार बसेको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ।
यसअघिकै बैठकमा उनलाई दलको नेता चयन गर्ने निर्णय गरिएको थियो। तर त्यसलाई विधिवत् रूप भने शुक्रबारको बैठकमा दिइएको जनाइएको छ।
दलको नेता चुनिएपछि प्रचण्डले सांसदहरुलाई धन्यवाद दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकको अध्यक्षता ज्येष्ठताका हिसाबले वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए।
पुनःस्थापित संसदको फागुन २३ गते ४ बजे सुरु हुने बैठकमा कसरी प्रस्तुत हुने र त्यहाँ सांसदहरूले खेल्ने भूमिका कस्ताे हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।
बैठक थाल्नुअघि सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो । जसअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १ सय १२ सांसद बैठकमा उपस्थित रहेको र उनीहरु सबैको हस्ताक्षर संकलन गरिएको जनाइएको छ।
विभाजित नेकपाका दुवै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आइरहेका बेला प्रचण्ड–नेपाल समूहले शुक्रबारकाे बैठकमा १ सय १२ सांसद सहभागी भएकाे बताएको हो ।
पार्टीको आधिकारिकता टुंगो नलागेका बेला विभाजित दुई समूहका संसदीय दलमा कसको बहुमत छ भन्ने आम चासाेकाे विषय बनेकाे छ ।
यता नेकपा केपी ओली समूहले पनि आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसद छन् ।











-1790853075.png)