कोभिडको प्रभावमा नेपाली कागज
अहिले टुरिस्ट आएका छैनन्, नेपाली ग्राहक धेरै कम आउँछन्, त्यस कारण पनि व्यापार छैन । विदेशीले नेपाली कागजबाट बनेका नोट बुक, फोटो फ्रेम, ल्याम्प जस्ता सजावटका सामान लैजाने गर्छन् ।काठमाडौं, फागुन २० : भक्तपुरको पोटरी स्क्वायरमा रहेको नेपाली कागज पसलमा मंगलबार बिहान खासै मानिसको भीड थिएन । नेपाली कागज किन्न प्रायः विदेशी ग्राहक आउने भएकाले कोभिड–१९ महामारीपछि पर्यटन आउन छोडेको र व्यापार पनि कम भएको पसल सञ्चालक गौतमप्रसाद प्रजापति बताउँछन् ।
उनले ‘नेपाल पेपर क्राफ्ट’ नामक यो पसल खोलेको २५ वर्ष भयो । प्रजापति भन्छन्, ‘पहिले यही पसल चलाएर गुजारा चलेको थियो । अहिले कोरोनाका कारण भने व्यापार ठप्प छ,’ उनले काठमाडौं प्रेसलाई भने, ‘अहिले टुरिस्ट आएका छैनन्, नेपाली ग्राहक धेरै कम आउँछन्, त्यस कारण पनि व्यापार छैन ।’
पहिलेभन्दा अहिले नेपाली कागज बेच्ने पसल बढेको र नयाँ प्रविधिबाट बन्ने कागज बजारमा व्यापक प्रयोगमा आएका कारण पनि नेपाली कागजको बजार खस्केको उनले बताए ।
विदेशीले नेपाली कागजबाट बनेका सामान निकै मन पराउने गरेको पाइन्छ । नेपाली कागजबाट बनेका नोट बुक, फोटो फ्रेम, ल्याम्प, सजावटका सामान लगायत सामान बढी बिक्री हुने गरेको प्रजापति बताउँछन् । नेपाली कागजबाट बनेका सामान बोक्न सजिलो हुने, सस्तो हुने र धेरै समय टिक्ने भएकै कारण पनि पर्यटकले नेपाली कागज मन पराउने गरेको उनको भनाइ छ । तर नेपाली ग्राहकले भने खासै यस्ता सामान किन्न नआएको उनले बताए ।
‘अब उद्योग नै बन्द गर्ने सोचमा छु’
भक्तपुरको सूर्यविनायकमा रहेको ‘एभरेस्ट नेपाल ह्यान्डिक्राफ्ट इन्डस्ट्रिज’ नामक नेपाली कागज बनाउने उद्योग अहिले बन्द हुने अवस्थामा पुगेको छ । यो उद्योग सञ्चालनमा आएको लगभग २० वर्ष भइसकेको छ । तर अन्य क्षेत्रजस्तै कोरोनाका कारण भएको लकडाउनले यस क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ ।
लकडाउनअगाडि नेपाली कागजको बजार राम्रो भएपनि लकडाउनपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उद्योग सञ्चालक नवीन खर्बुजा बताउँछन् । खर्बुजा भन्छन्, ‘नेपाली कागजको मार्केट भनेकै विदेशी पर्यटक हो । लकडाउनका कारण पर्यटक नआएपछि व्यवसाय नै ठप्प भएको छ,’ उनले भने, ‘अहिले नेपाली कागजको एक पानाको पनि माग छैन । अब उद्योग नै बन्द गर्नु गर्ने सोचमा छु ।’
भक्तपुरमा रहेका करिब चारवटा नेपाली कागजको उद्योगमध्ये सबै बन्द हुने अवस्था रहेको उनले बताए । लकडाउन हुनुअघि भने उनले ताप्लेजुङ, दोलखा लगायत ठाउँबाट आवश्यक कच्चा पदार्थ ल्याई नेपाली कागज बनाउँथे र ठमेल, भक्तपुर, पोखरा लगायत पर्यटकीय धेरै आउने ठाउँमा आपूर्ति गर्थे ।
कसरी बन्छ नेपाली कागज ?
नेपाली कागजलाई लोक्ता पत्र पनि भनिन्छ । आधुनिक कागज आउनुअगाडि यही नेपाली कागज नै प्रचलनमा थियो, अझै पनि कतिपय सरकारी कार्यालयमा कागज प्रयोग गरेको पाइन्छ ।
लोक्ता र अर्गेली नामक वनस्पतिको बोक्राबाट यो कागज बनाइन्छ । नवीन खर्बुजाका अनुसार, नेपाली कागज बनाउनका लागि सुरुमा जंगलबाट लोक्ता वा बाबियो ल्याइन्छ । त्यसपछि सो लोक्तालाई खुर्केर दाग फालिन्छ । सफा गरिसकेको लोक्तालाई २४ घन्टासम्म पानीमा भिजाइन्छ । त्यसपछि लोक्तालाई लगभग ८ घन्टासम्म सादा पानीमा पकाइन्छ । पकाएको लोक्तालाई राम्ररी घोली सो घोललाई कपडाको जालीमा राखेर घाममा सुकाइएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागज तयार भएपछि त्यसलाई मेसिनमा माग अनुरुपको साइजमा ढाली त्यसमा विभिन्न हस्तकला गरिन्छ ।
नेपाली कागजको प्रयोग
प्रज्ञाको नेपाली बृहत् शब्दकोश अनुसार ‘नेपाली कागत’को अर्थ ‘सिस्नु अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत, पहाडी कागत’ उल्लेख छ । शब्दकोशमा कागजको अर्थ फारसी ‘कागत’ भन्ने पनि उल्लेख छ ।
नेपालको इतिहाससँग जोडिएको नेपाली कागज लगभग १४औँ शताब्दी अघिदेखि नै उत्पादन हुँदै आएको संस्कृतिविद् हरिराम जोशी बताउँछन् ।
नेपालमा रहेका चर्चित हस्तकलामध्ये नेपाली हातेकागज पनि एक हो ।
संस्कृतिविद् जोशीका अनुसार नेपाली कागजभन्दा अगाडि ताडपत्र, भोजपत्रहरूको चलन थियो । नेपाली कागजको चलन ६ सय वर्षअगाडि मात्र सुरु भएको अनुमान छ ।
‘नेपाली कागज बनाउने बोटमा एक खालको विष हुन्छ । जसले कीराहरूलाई टाढा राख्छ । त्यसै कारण हत्तपत्त कीरा नलाग्ने र लामो समय टिक्नु नै यसको मुख्य विशेषता हो,’ संस्कृतिविद् जोशी भन्छन्, ‘कतिपय ग्रन्थ ६ सय वर्ष पुरानो भएर पनि बिग्रिएका छैनन् ।’ यस्तै सामान्य कागज पट्ट्याउँदा दाग बस्ने र बिग्रने हुन्छ भने नेपाली कागज बिग्रँदैन । त्यसैले यो नेपाली समाजमा अझैसम्म प्रचलनमा छ ।
नेपालमा यो कागज उत्पादन गर्ने बिरुवालाई बरुवा, सेतो बरुवा, कागजे पात, सिक्रे बरुवा, सिउस्या, बडु लगायत नामले चिनिन्छ । यस्तै यो बिरुवालाई डाफ्ने क्यानबेना वा डाफ्ने पप्यारेसिया पनि भन्ने गरिन्छ ।
सन् १९७० को दशकमा नेपालमा पर्यटन उद्योगको विकास हुन थालेपछि लोक्ता क्राफ्ट पेपर बनाउने कुराको चासो बढेको र अहिले पर्यटकले समेत यसबाट बनेका हस्तकलालाई मन पराएको देखिएको संस्कृतिविद् जोशी बताउँछन् ।